सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडमा २ सय फरक क्षमताका विद्यार्थी पढाउन भवनहरू बन्दै

२०८० चैत्र २९, ०७:२६ कमल सावद

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा पाँच वर्षदेखि ९३ करोडको आयोजना अलपत्र छ। २०७५ सालमा सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागबाट उक्त आयोजना विद्यालयमा परेको हो। विद्यालयको खातामा २ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ। तर, जग्गा अभावका कारण आयोजना सञ्चालन हुन सकेको छैन।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले चैत १७ गतेको सर्वदलीय–सर्वपक्षीय बैठकमा ठेक्काको प्रक्रिया सुरु गर्ने र अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचनाहरू हटाउन भनेका थिए। बैठकमा नगरपालिकाले ठेक्का सम्झौता गर्ने र भौतिक संरचनाहरू ३५ दिन भित्रमा हटाउने निर्णय गरेको थियो। स्थानीयले संरचना खाली गर्दै छन। तर, नगरपालिकाले आयोजनामार्फत विद्यालयका संरचना निर्माणको ठेक्काको प्रक्रियामा ढिलाइ गरेको छ। नगरपालिकाका सूचना अधिकारी उमेश रेग्मीले ठेक्काका लागि बोलपत्रको सूचना सार्वजनिक नभएको बताए। उनले भने, ‘ठेक्का भएको छैन। प्रक्रिया सुरु भएको छ। नगरपालिकाको योजना शाखाले प्रक्रिया सुरु गर्दैछ।’

राष्ट्रिय माध्यमिक विद्यालय, सुखडमा पाँच वर्षदेखि ९३ करोडको आयोजना अलपत्र छ। २०७५ सालमा दुईवटा छात्रावास भवनहरू, एकेडेमी भवन, एक चमेनागृह, एक फिजियोथेरापी भवन, बगैँचा, खेलमैदान, पर्खालसमेत निर्माणका लागि बजेट आएको हो। उक्त संरचनाहरु निर्माणका लागि विद्युतीय बोलपत्र गर्न विद्यालयले नगरपालिकालाई पत्राचार गरेको छ। तर, नगरपालिकाले स्टीमेटको कामसमेत पूरा गरेको छैन। राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले भने, ‘नगरपालिकाले बोलपत्रको सूचना सार्वजनिक गरेको छैन। स्टीमेट तयार हुँदैछ। केही दिनमा ठेक्का सम्झौताका लागि बोलपत्रको सूचना सार्वजनिक हुन्छ।’

फरक क्षमता भएका सुदूरपश्चिमका २ सय विद्यार्थीहरूलाई आवाससहितको अध्यापनका लागि भवनहरू निर्माण गरिने भएको हो। एक १३ जना कर्मचारी, चार जना चिकित्सक, ४० जना खाना पकाउने व्यक्ति र २० जना सरसफाइ कर्मचारी आयोजना मार्फत भर्ना गरिने छ। उनीहरूले २ सय फरक क्षमता भएका विद्यार्थीलाई आवाससहितको शिक्षा दिनेछन्। हमालले भने, ‘फरक क्षमता भएका प्रदेशभरीका २ सय जना विद्यार्थी हुन्छन्। प्रत्येक जिल्लाबाट बोल्न नआउने, तोतेबोली बोल्ने, अपाङ्ग, बहिरा विद्यार्थीहरूलाई राख्ने हो। प्रत्येक जिल्लाको तथ्याङ्क हुन्छ। उनीहरूलाई खाना, पठाइ निःशुल्क हुन्छ।’ राष्ट्रिय माध्यमिक विद्यालय, सुखडको स्रस्ता नम्बर ९७ को आठ कट्टा जग्गामा उक्त आयोजनामार्फत भवनहरू निर्माणको प्रक्रिया सुरु भएको हमालले बताए। विद्यालयले संरचना निर्माण गरेर विद्यार्थी भर्ना सुरु गरेपछि विभागले प्रत्येक वर्ष सञ्चालन खर्च समेत दिने छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस