सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले खरिद गरेको औषधी प्रयोगशाला परीक्षणका लागि पठायो

२०८० चैत्र २९, ११:१४ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्षबाट खरिद भएको औषधीको गुणस्तर परीक्षण गर्न थालेको छ। २०७९ देखि नै टेण्डर मार्फत औषधी खरिद गर्न थालेको उपमहानगरले यो वर्षदेखि औषधीको गुणस्तर परीक्षण गर्न थालेको हो।

यो पटक टेण्डर मार्फत औषधी खरिद गर्दा ६१ प्रतिशत घटेर सप्लायर्सले औषधी उपलब्ध गराएको छ। टेण्डर गर्दा औषधी सस्तो हुने भए पनि गुणस्तर बारे यकिन हुन उपमहानगरले गुणस्तर परीक्षण गरेको हो। यो पटक खरिद गरिएको औषधीको नमुना संकलन गरेर स्पेसिफिकेसनअनुसार गुणस्तर भए/नभएको पहिचान गर्न राष्ट्रिय औषधी प्रयोगशालामा औषधीको नमुना पठाइएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। ‘धनगढीमा कोटेसनबाट औषधी खरिद नगरेर टेण्डर मार्फत खरिद गर्न थालिएको छ। अहिले खरिद गरिएको औषधी पनि परीक्षण गर्न काठमाडौं पठाएका छौँ।’

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सुरूमा पनि औषधी खरिद गर्न टेण्डर आह्वान गरेको थियो। उपमहानगरपालिकाले आर्थिक वर्षको सुरूमा ३८ लाखको औषधी खरिद गर्न खोलेको टेण्डरमा औषधी सप्लायर्सले ५८ प्रतिशत घटीमा औषधी उपलब्ध गराएका हुन्।

यस्तै, गत माघमा दोस्रो पटक खोलेको औषधि खरिदको टेण्डरमा सप्लायर्सले ६१ प्रतिशत कममा टेण्डर हालेको छ। उपमहानगरले दोस्रो पटक निःशुल्क वितरण गर्ने २६ किसिमको औषधी खरिद गर्न ३३ लाख बजेट छुट्याएकोमा ६१ प्रतिशत कम अर्थात् ८ लाख ९१ हजारमा औषधी उपलब्ध गराउन नेपालगन्जको सिर्जना मेडिसिन सप्लायर्सले टेण्डर हात पारेको हो। कोटेसनमा औषधी खरिद गर्दा महङ्गो पर्न जाने तर टेण्डर गर्दा कम मूल्यमा बढी औषधी खरिद गर्न सकिएको नगर प्रमुख गोपाल हमालले बताए। ‘पहिला कोटेसनमा औषधी खरिद हुन्थ्यो। अहिले टेण्डरमा खरिद गर्दा कम पैसामा बढी औषधी खरिद भएको छ,’ उनले भने, ‘टेण्डर गरेर खरिद गर्दा बचत भएको पैसा अन्य लोककल्याणकारी काममा खर्च गर्न मिलेको छ।’

बोलपत्र आह्वान गरेर औषधी खरिद गर्दा सप्लायर्सहरूले घटाघटकमा बोलपत्र लगाउँदा खरिदकर्ताले मागेको औषधी सस्तो पर्न जान्छ। औषधी सस्तो भएर मात्रै नहुने गुणस्तर तोकिए अनुसार छ छैन भनेर पनि जाँच गर्नुपर्ने भएकाले सप्लायर्सले फागुन मसान्तसम्म उपमहानगरपालिकालाई उपलब्ध गराएको औषधी बिरामीहरूलाई वितरण गरिएको छैन। गुणस्तर परीक्षणमा औषधी ठिक छ भन्ने रिपोर्ट आएपछि मात्रै उपमहानगरले स्वास्थ केन्द्र तथा विशेषज्ञ वडा क्लिनिकमा अहिले खरिद गरेको औषधी वितरण गरिने नगर प्रमुख हमालले बताए। ‘हामीले सस्तोमा औषधी मात्रै खरिद गरेका छैनौँ त्यसको गुणस्तर पनि कस्तो छ भनेर परीक्षण गर्न पठाइएको छ। प्रयोगशाला परीक्षण रिपोर्ट आएपछि मात्रै औषधी वितरण हुन्छ। गुणस्तरमा कैफियत भेटिए औषधी जफत हुन्छ भने सप्लायर्सलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेछौँ।’

खरिद गरिएको औषधीको गुणस्तर जाँच गर्न चैत १ गते सबै किसिमको औषधीको नमुना सङ्कलन गरेर काठमाडौँ पठाइएको छ। राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा औषधीको नमुना परीक्षणका लागि पठाइएको हो। गुणस्तर परीक्षणमा औषधी पास नभएको औषधी जफत गरेर सप्लायर्सलाई आवश्यक कारबाहीका लागि माथिल्लो निकायमा उपमहानगरले लेखी पठाउने भएको छ। गुणस्तर ठिक भए मात्रै सप्लायर्सले भुक्तानी पाउने छ। एक हप्ताभित्र परीक्षणका लागि पठाइएको नमुनाको नतिजा आउने नगर प्रमुख हमालले बताए।

धनगढी उपमहानगरपालिकाले यो वर्षबाट खरिद गरिएको औषधीको पनि गुणस्तर परीक्षण पश्चात् मात्रै सप्लायर्सलाई भुक्तानी दिने भएको छ। यसअघि वडा कार्यालयहरूले जडान गरेका सडक बत्ती र ६ लेन सडकको स्मार्टलाइटको समेत प्रयोगशाला परीक्षण गरिएको थियो।

 

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस