सुदूर नेपाललाई विश्वसँग जोड्दै

केआई सिंह गाउँपालिकाका किसानलाई पावर टिलर वितरण

२०८० चैत्र २८, ०५:५९ खबर संवाददाता

डोटीः आधुनिक कृषि प्रणाली अपनाउन चाहने कृषकहरुलाई डोटीको के.आई.सिंह गाउँपालिकाले मिनी पावर टिलर वितरण गरेको छ।

५० प्रतिशत अनुदानमा पालिकाले ९ कृषक तथा २ वटा समूहका लागि ११ वटा पावर टिलर हस्तान्तरण गरेको हो। गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले व्यावसायिक रुपमा खेती किसान गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्न उपकरणहरु उपलब्ध गराएको बताए।

पावर टिलर पाएपछि के.आई.सिंह गाउँपालिका–३ का बहादुर बडैलाले खेतबारी जोत्न सहज हुने बताए। ‘गोरुले खेत जोत्न असाध्यै मिहिनेत गर्नुपर्थ्यो,’ बडैलाले खुसी व्यक्त गर्दै भने, ‘अब खेतबारीमा एक्लैले खनजोत गर्न सजिलो हुने आशा छ।’

के.आई.सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञ रावलले ७ हर्सपावरको मिनी पावर टिलर बुधवार नौ जनालाई हस्तान्तरण गरिएको बताए। बाँकी अर्को दिन हस्तान्तरण गर्ने योजना छ। रावलका अनुसार एउटा पावर टिलरको ७५ हजार मूल्य परेको छ। जसमा ५० प्रतिशत पालिका तथा ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ। पावर टिलर पाउनेमा झकेन्द्र बम, योगेन्द्र माझी, बहादुर बडैला, चक्रबहादुर कुँवर, कृष्णबहादुर कुँवर, झिमे मालिका मावि, गणेश कार्की, धनबहादुर राणा, रामबहादुर बलायर र चौड कृषक समूह रहेका छन्।
 

कमेन्ट लोड गर्नुस