कक्षा ८ को परीक्षाफलः छविसपाथिभेरा र पाटनका १४ विद्यालयको नजिता शून्य
धनगढीः सुदूरपश्चिममा कक्षा ८ को परीक्षाफल निराशाजनक देखिएको छ।
अहिलेसम्म आधारभूत तहको परीक्षा प्रकाशित गरेका स्थानीय तहको नतिजा निराशाजनक देखिएको हो। विद्यार्थीको सिकाइ उपलब्धि कमजोर लगायत कारण नजितामा सुधार आउन सकेको छैन्। पाठ्यक्रम, शिक्षक अभिभावक र विद्यार्थी स्वयंका कारण सिकाइ उपलब्धि कमजोर भएको टिप्पणी गरिएको छ।
हरेक कक्षा र तहका विद्यार्थीको नतिजा राम्रो आउन अभिभावक, विद्यालय, शिक्षक र विद्यार्थीले जिम्मेवार हुनुपर्ने तर्क गरिएको छ। आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरेका अधिकांश स्थानीय तहमा विद्यार्थीको सिकाइ उपलब्धि निकै कमजोर देखिएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमै टिप्पणी गरेका छन्।
केही वर्षयता विद्यार्थीहरूले अध्ययन गर्नुपर्ने विषयवस्तु बढाइएको तर विद्यार्थी आफैले पढ्ने समयमा ध्यान नदिएका कारण सबै तह र कक्षाको नतिजा प्रभावित भएको तर्क धनगढी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीको छ। उनले प्रभावकारी सिकाइका लागि विद्यार्थी र शिक्षक नियमित कक्षामा उपस्थित हुनेपर्नेमा विद्यार्थी गयल हुने दर बढेकाले पनि नतिजा खस्केको बताए।
‘नियमित कक्षामा उपस्थित नहुने र घरमा समेत पढ्ने विषयवस्तु अध्ययन नगर्ने बानीका कारण परीक्षाको नतिजा कमजोर आउने गरेको छ। विद्यालय पनि नियमित नआउँदा पाठ छुट्ने भएकाले विद्यार्थीको नतिजा प्रभावित हुने गरेको छ’, खातीले भने। यो वर्षको कक्षा ८ को वार्षिक परीक्षामा बझाङको छविसपाथिभेरा गाउँपालिकाको १६ विद्यालयका ३२४ जना विद्यार्थीहरू वार्षिक परीक्षामा सहभागी भएकोमा जम्मा २३ जनाले मात्रै कक्षा ९ मा भर्ना हुने योग्यता हासिल गरेका छन्।
पालिकाका ७ विद्यालयको नतिजा शून्य आएको छ। यस्तै, बैतडीको पाटन नगरपालिकाको ३५ विद्यालय मध्ये ७ विद्यालयको नतिजा शून्य आएको छ भने परीक्षामा सामेल भएका ६५२ विद्यार्थीमा केबल १३७ मात्रै पास भएका छन्। हिमाली जिल्ला बाजुराको खप्तडछेडेदह गाउँपालिकाको १५ विद्यालयका ६०९ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा १२२ जना मात्रै उत्तीर्ण भएका छन्। यी केबल प्रतिनिधि उदाहरण मात्रै हुन्।
यो वर्ष परीक्षामा अनुत्तीर्ण हुनेको दर प्रदेशभर ह्वात्तै बढेको परीक्षा नतिजाले देखाएको छ। विद्यार्थीहरू पढाइ गर्नुभन्दा मोबाइल, कम्प्युटर तथा सामाजिक सञ्जालको लतमा फसेकाले केही वर्षयता परीक्षाको नतिजा खस्किएको शिक्षा अधिकारी खातीको तर्क छ।
विद्यार्थीहरू नियमित विद्यालय नआउने, खेलकुद तथा अन्य काममा समय व्यतीत गर्ने, घरमा पढ्ने वातावरण नहुने र अभिभावकले उचित ध्यान नदिने कारणले पनि विद्यार्थीको पढाइ बिग्रेको हो।
विद्यालयमा कक्षाकोठाको व्यवस्थापन, शिक्षण सामग्रीको उपलब्धता र प्रयोग नहुनुले पनि विद्यार्थीको पढाइप्रति आकर्षण बढ्न नसकेको तर्क गरिएको छ। शिक्षकहरूको कमजोरीले पनि विद्यार्थीको पढाइमा लगाव बढ्न सकेको छैन। शिक्षकहरूले विद्यार्थी केन्द्रित सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसक्दा तथा परीक्षामुखी मात्रै भएर पढाउँदा विद्यार्थीमा सिर्जनात्मक र रचनात्मक सीप र क्षमताको विकास हुन सकेको छैन।
परीक्षामुखी शिक्षणले समेत परीक्षाको नतिजा कमजोर आएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीले बताए। पाठ्यक्रम, वातावरण, शिक्षण क्रियाकलाप, र समय व्यवस्थापन गर्ने सीपको अभाव जस्ता कारणले विद्यार्थीको सिकाइ नतिजा कमजोर भएको तर्क शिक्षा अधिकारीले गरेका छन्।