सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधको दुर्व्यसनमा फसेका किशोरी दिनहुँ पुग्छन् सीमा बजार पलिया

२०८० चैत्र २७, ०२:०९ कमल सावद

धनगढीः लागुऔषधको दुर्व्यसनमा फसेका किशोरीहरु दैनिक नेपाल–भारत सीमा बजार पलिया पुग्ने गरेको पाइएको छ।

लागुऔषधको कुलतमा फसेका ती किशोरीहरु भारतीय केही युवाकै संलग्नतामा सीमा बजार पुग्ने गरेका हुन्। दिनहुँ लागुऔषधका लागि पुग्ने ती किशोरी धनगढीकै भएको समेत खुलेको छ। सामान खरिदको नाममा ती किशोरीहरु लागुऔषधको लत मेटाउन सीमा बजार पुग्ने गरेका छन्। ती किशोरीहरु लागुऔषध सेवनसँगै खरिद गरेर धनगढीसम्म पुगाउने काममा समेत प्रयोग हुँदै आएका छन्।

शनिबार मात्र लागुऔषधमा फसेका किशोरी लिन युपी ३१ सीडी ०३८१ नम्बरको मोटरसाइकल प्रयोग भएको देखिएको छ। दुर्व्यसनमा फसेका भारतीय युवाले नै ती किशोरीलाई लागुऔषध पाउने स्थान र सेवनका लागि उपयुक्त क्षेत्रको व्यवस्था गर्ने गरेका छन्। पलियाका एक पत्रकारका अनुसार दिनहुँ तीन किशोरी यहाँ आउने गरेका छन्। ती किशोरीहरु गौरीफन्टा हुँदै पलियासम्म पुग्ने गरेका छन्।

पलियामा पनि लागुऔषध प्रयोगकर्ताहरू छन्। उनीहरसँग ती किशोरीको भेट हुने गरेको छ। पलियाकै युवाहरूले लागुऔषध पाउने स्थान र सेवन गर्ने क्षेत्रसम्म पुगाउने गरेको ती पत्रकारको दाबी छ। धनगढीबाट किशोरी तथा युवतीहरू पलियासम्म पुगेर लागुऔषध सेवनसँगै खरिद गर्ने गरेको समेत पाइएको हो। ती किशोरी लागुऔषधसँगै अनैतिक क्रियाकलापमा समेत संलग्न हुने गरेको पलियाकै पत्रकारको तर्क छ।

पलियाकै युवाहरूले ती किशोरी एवं युवतीलाई लागुऔषध उपलब्ध गराउने गरेका छन्। साथै कहिलेकाँही राति ती किशोरीहरु पलियामै बस्ने गरेको बताइएको छ। भारतीय बजारमा सहजै रुपमा लागुऔषध पाइने भएपछि नेपाली किशोरीहरू त्यहाँसम्म पुग्ने गरेका हुन्। कैलाली र कञ्चनपुरका सीमा क्षेत्रहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छ। तर, लागुऔषध सेवन, कारोबार र ओसारपसारमा कडाई हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले सीमा क्षेत्रमा शंका लागेका व्यक्तिमाथि निगरानी गर्ने काम हुँदै आएको बताए। उनले भने, ‘सीमा क्षेत्रमा हामीले निगरानी गर्दै आएका छौ। तर, खुला सीमा छ। प्रहरी नभएको क्षेत्रबाट यस्तो काम बढी हुने गरेको छ। भारतीय सुरक्षा निकायहरूसँग पनि हामीले भन्ने गरेका छौ।’

धनगढीसँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्ज लगायत जंगल क्षेत्रमा समेत नेपाली दुर्व्यसनीहरूले लागुऔषधको प्रयोग गर्दै आएका छन्। गौरीफन्टा नजिकको भारतीय बजार वनगाउँका पसलहरूमा समेत लागुऔषध सहज रुपमा पाउने गरेको छ।भारतीय प्रहरीले लागुऔषधको सेवन तथा कारोबारमा कडाइ नगरेकाले पनि नेपाली किशोर–किशोरीहरूको जीवन  बर्बाद हुँदै आएको छ। भारतीय बजारबाट आउने लागुऔषधका कारण समस्या जटिल बन्दै गएको छ।

भारतीय सेवनकर्ता तथा कारोबारीहरुले नेपाल–भारत सीमा क्षेत्रसम्म लागुऔषध ल्याउने गरेका छन्। नेपाली सेवनकर्ता तथा कारोबारीहरुले सीमा क्षेत्रबाट ठुलो परिमाणमा लागुऔषध नेपालसम्म ल्याउने काम गर्दै आएका छन्। नेपाल प्रहरीले लागुऔषधको सेवन तथा कारोबार राक्न अभियान सञ्चालन गरेको भएपनि यस्तो समस्या बढ्दो क्रममा देखिएको छ। धनगढीमा लागुऔषध प्रयोगकर्ता राख्न प्रहरीले सुधारकेन्द्र नै सञ्चालन गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस