सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा श्रीमानसँगको सम्बन्ध तोड्न १६ सय ३८ महिला पुगे अदालत

श्रीमानश्रीमतीबिच बढ्दै खटपट

२०८० चैत्र २६, ०६:४६ नारायण अवस्थी

धनगढीः कैलालीमा सम्बन्धविच्छेदको समस्या विकराल बन्दै गएको छ।

जिल्लामा बैवाहिक सम्बन्ध अन्त्यको मुद्दा दिनेमा महिलाको संख्या सबैभन्दा धेरै देखिएको छ। पाँच वर्षको अवधिमा मात्र दुई हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन्। ती मध्ये अधिकांश बैवाहिक सम्बन्ध अन्त्यको मुद्दा दिनेमा महिलाको संख्या पुरुषको तुलनामा दोब्बरले बढी देखिएको हो।

जिल्लाभित्र पाँच वर्षको अवधिमा दुई हजार तीन सय ६० मुद्दा दर्ता भएका छन्। कैलालीमा वैवाहिक सम्बन्ध अन्त्य गर्न मुद्दा दिने प्रवृत्ति ह्वात्तै बढेको हो। सम्बन्धविच्छेदको माग गर्दै महिला र पुरूष अदालत जाने क्रम बढेको हो। जिल्ला अदालत कैलालीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको चैत २५ गतेसम्म सम्बन्धविच्छेदका लागि अदालतमा दुई हजार ३६० मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा सम्बन्धिवच्छेदका कुल २०४ मुद्दा दर्ता भएका छन्। जसमा १५३ मुद्दा महिलाले दर्ता गरेकोमा ५१ मुद्दा पुरुषले दर्ता गराएका हुन्। आर्थिक वर्ष २०७७/७८ मा २०५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा १५३ थान मुद्दा महिला तथा बाँकी ५२ थान मुद्दा पुरुषले दर्ता गराएको अदालतको तथ्यांकले देखाएको हो।

कैलालीमा आर्थिक वर्ष २०७८/७९ देखि सम्बन्धविच्देको मुद्दा दर्ता हुने दर ह्वात्तै बढेर ६१० मुद्दा दर्ता भएका छन्। कुल दर्ता भएका मुद्दा मध्ये महिलाले ४३० तथा पुरुषले १८० मुद्दा दर्ता गराएको पाइएको छ। यस्तै, आर्थिक वर्ष २०७९/८० मा अदालतमा वैवाहिक सम्बन्ध अन्त्य गर्न ७०३ मुद्दा दर्ता भएका छन्। जसमध्ये महिलाले ४७६ र पुरुषले २२७ मुद्दा दर्ता गरेका हुन्।

चालु आर्थिक वर्षको चैत २५ गतेसम्म सम्बन्धविच्छेदका थप ६३८ मुद्दा दर्ता भएका छन्। जसमा ४२६ मुद्दा महिलाले गरेका हुन् भने पुरुषले २१२ मुद्दा दर्ता गराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको चैत २५ गतेसम्म सम्बन्धविच्छेदका लागि कैलाली अदालतमा २ हजार ३६० मुद्दा दर्ता भएका छन्। जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका हुन् भने ७२२ थान मुद्दा पुरुषले दर्ता गराएको पाइएको छ। कैलालीमा सम्बन्धविच्छेदका लागि अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस