धनगढीले माग्यो विज्ञ स्रोत शिक्षक
धनगढी: धनगढी उपमहानगरपालिकाले विज्ञ स्रोत शिक्षकका लागि आवेदन खुलाएको छ। सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि तीन जना विज्ञ शिक्षकको माग गरिएको हो।
उपमहानगरपालिकाले सामाजिक, अङ्ग्रेजी र गणित वा विज्ञान विषयको एक/एक जना विज्ञ स्रोत शिक्षक माग गरेको हो। उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी शिक्षकहरूले विज्ञ स्रोत शिक्षकका लागि आवेदन दिन सक्ने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
विज्ञ स्रोत शिक्षकको रुपमा काम गर्न इच्छुक शिक्षकले २०८१ बैशाख २ गतेभित्र आवेदन बुझाउन सक्ने छन्। विज्ञ स्रोत शिक्षक छनोट विभिन्न ८ वटा मापदण्डको आधारमा रहेर गरिने सूचनामा उल्लेख गरिएको छ।