सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १५ करोडको खानेपानी योजना १२ वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित

२०८० चैत्र २६, ०१:१३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा १५ करोड लगानीको खानेपानी योजना १२ वर्षदेखि अलपत्र परेको छ।

धनगढी उपमहानगरपालिका–१५ फूलबारीमा खानेपानी आयोजना निर्माणको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०६८/७९ मा काम सुरु गरिएको फूलबारी डिपोबजार र फूलबारी टाउन खानेपानी योजना १२ वर्षदेखि अलपत्र छ। १५ करोड लगानीको सो आयोजना निर्माण सम्पन्न नहुँदा फूलबारीका १५ हजार स्थानीय खानेपानीबाट सुविधाबाट वञ्चित भएका छन्। खानेपानीका लागि वडा नम्बर १४ र १९ मा खानेपानी टंकी बनेपनि स्थानीयले भने उपभोग गर्न पाएका छैनन्।
१२ वर्षसम्म काम अधुरै
आर्थिक वर्ष २०६८/७९ मा काम सुरू भएको फूलबारी खानेपानी योजनाको काम सुरू भएको १२ वर्ष पूरा भएको छ। धनगढी–१४ डिपोबजार र १९ को फूलबारी टाउनमा खानेपानीको एक÷एक टंकी निर्माण गरिएको छ। उपमहानगरभित्रका तीन वडाका करिब १५ हजार जनसंख्यालाई खानेपानी सेवा दिन सुरू गरिएको योजनामा स्थानीयले समेत करिब ४ करोड १४ लाख २६ हजार रकमको साझेदारी गरेका छन्।

सरकार र स्थानीयको सहभागिता रहेको तथा धनगढी–१९ का पूर्वअध्यक्ष र १४ नम्बर वडाका वर्तमान अध्यक्षले नेतृत्व गरेको खानेपानी उपभोक्ता समितिले योजनाको काम पूरा गर्न सकेका छैनन्। टंकी निर्माण गर्ने, पाइप लाइन विछ्याउने लगायतका काम गरेर पनि भल्भ तथा विद्युत लाइन जोड्ने काम अझै भएको छैन्। सरकारले १०÷१२ करोड बजेट खर्च गरेर पनि उपभोक्तालाई पानी दिन नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

खानेपानी घरघरमा पुगाउन नसक्ने भए निर्माण गरिएको टंकी सरकारले उखेलेर लैजानुपर्ने फूलबारी टाउनकी मथुरादेवी सिंहले बताइन्। उनले फूलबारीका जनताले रित्तो टंकी हेरेर आर्सनिकयुक्त पानी पिउनु परेको गुनासो गरिन। ‘फूलबारीमा दुबै खानेपानी टंकी संघीय सरकारले निर्माण गरेको हो।

हामीले पनि प्रति परिवार एक हजारका दरले तिरेका छौँ। टंकी निर्माण भएकै ८/९ वर्ष भयो पानी दिन्छौ भन्छन् तर अहिलेसम्म दिएका छैनन्’, उनले भनिन्, ‘पानी दिन नसक्ने भए हामीलाई यी टंकी पनि चाहिएन, सरकारले उखेलेर लैजाओस्।’ धनगढी–१४ को खानेपानी टंकी नजिकै भेटिएका सुर्यप्रसाद काफ्लेले पनि टंकी बनेको धेरै वर्ष भएको तर पानी कहिले आउँछ भन्ने टुङ्गो नभएको गुनासो गरे।

उनले खानेपानीका पाइप समेत खिया लागेको, सडक निर्माण गर्दा टुटेको तर, कसैले त्यो कुराको मतलब नगरेको बताए। यस्तै, फूलबारीका श्यामसुन्दर चौधरीले पनि खानेपानी नहुँदा नल चलाएर पहेँलो र बास्ना आउने पानी पिउनु परेको गुनासो गरे। उनले १२ वर्षसम्म योजना पूरा नहुँदै टंकी समेत चुहिने भएको हुन सक्ने आशंका समेत गरे।
स्थानीयको लगानी डुब्ने जोखिम
आर्थिक वर्ष २०६८/७९ मा सुरू भएको योजना आर्थिक वर्ष २०७५/७६ मा सक्ने लक्ष्य राखिएको थियो। ८ वर्षमा सक्नुपर्ने योजना १२ वर्ष हुँदा पनि स्थानीयले खानेपानी उपभोग गर्न पाएका छैनन्। सुरूमा संघीय सरकारको १० करोड ५३ लाख ४९ हजार र उपभोक्ताको ४ करोड १४ लाख २४ हजार खर्च हुने भनिएको योजनामा अहिलेसम्म भएको खर्चको विवरण समेत यकिन हुन सकेको छैन।

संघीयता आउनुभन्दा अगाडि सुरू भएको योजना मुलुक संघीयतामा गइसकेपछि कहिले संघ र कहिले प्रदेश मातहतमा ल्याउने काम भएको छ। यस कारण पनि कुन तहबाट कति खर्च भयो भन्ने यथार्थ जानकारी समेत प्राप्त गर्न सकिएको छैन। आफूहरूले मेहनत गरेर टंकी निर्माण गरेको पाइप विछ्याएको भए पनि खानेपानी चलाउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तिलुराम चौधरीले बताए।

उनले उपभोक्ताले खानेपानी सञ्चालन गर्न नसक्ने भएकाले योजना सञ्चालन गर्न नसक्ने निर्णय गरेको बताए। पूर्व वडाअध्यक्ष समेत रहेका चौधरीले फूलबारीको दुबै खानेपानी योजनाको काम थोरै मात्रै बाँकी रहेकाले योजना खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने उपभोक्ता समितिबाटै निर्णय भएको बताए। उपमहानगरपालिकाले पनि उपभोक्ताको माग अनुसार नेपाल खानेपानी संस्थानलाई योजना हस्तान्तरण गर्ने कार्यपालिकाबाट निर्णय गरिसकेको छ। बाँकी रहेको थोरै काम गर्न नसक्दा योजनामा गरिएको लगानी खेर जाने ठानेर योजना हस्तान्तरण गर्ने निष्कर्षमा पुगेको अध्यक्ष चौधरीको भनाइ छ।
९० प्रतिशत काम पूरा 
फूलबारी खानेपानी योजना (क) र (ख) को ९० प्रतिशत काम पुरा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। संघीय सरकारले सुरू गरेको योजनामा हरेक वर्ष थोरै बजेट विनियोजन गर्दा योजनाको काम समयमै नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख गणेशप्रसाद उपाध्यायले बताए।

उनले खानेपानी सुचारु गर्न योजनालाई खानेपानी संस्थानलाई हस्तान्तरण गर्नुपर्ने उपभोक्ता र धनगढी उपमहानगरपालिकाको निर्णयअनुसार प्रक्रिया अगाडि बढेको बताए। ‘संघीय खानेपानी तथा ढल विकास आयोजना मातहतबाट यो योजना हाम्रो मातहत आएको हो। तर पनि योजना संघीय सरकारले सुरू गरेकाले हस्तान्तरण पनि उसले नै गर्ने हो। हामीले योजना हस्तान्तरण गर्न फाइल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाएका छौँ। मन्त्रालयले संघीय खानेपानी मन्त्रालयमा फाइल पठाउने र संघीय खानेपानी मन्त्रालयले नै हस्तान्तरणको निर्णय गर्न सक्छ’, निमित्त प्रमुख उपाध्यायले भने।
योजना हस्तान्तरण भए मात्र पानी वितरण
फूलबारी–१४ र १९ को खानेपानी उपभोक्ता समितिले २०८० जेठ २२ गते खानेपानी सञ्चालन गर्न नसक्ने भन्दै योजना खानेपानी संस्थानलाई चलाउन दिने निर्णय गरेको छ। यस्तै, उपभोक्ता समितिको माग र निर्णय अनुसार नगर कार्यपालिकाको २०८० असार ९ गतेको बैठकले फूलबारी खानेपानी योजना संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मातहत रहेको योजनामा संघ सरकारले यो वर्ष करिब ९ लाख बजेट विनियोजन गरेको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना खानेपानी संस्थानलाई हस्तान्तरण गर्न नमिल्ने हुँदा आवश्यक प्रक्रियाका लागि संघीय खानेपानी मन्त्रालयमा लेखी पठाएको छ। संघीय खानेपानी मन्त्रालयले फूलबारीको १४ र १९ को खानेपानी योजना खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरे केही महिनाभित्र स्थानीयको घरघरमा पानी पुगाउन सकिने खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्रकुमार साहको दाबी छ।

उनले केन्द्रको टोली आएर फूलबारीको दुबै खानेपानी योजनाको अनुगमन र मूल्याङ्कन गरेको बताएका छन्। करिब एक करोड ७० लाख लागतमा खानेपानी वितरण गर्न सकिने देखिएकाले बजेटको समेत व्यवस्था भइसकेको साहले बताए। ‘खानेपानी संस्थानको केन्द्रीय कार्यालयको टोली समेत आएर हामीले फूलबारीको खानेपानी योजनाको अनुगमन गरिसकेका छौँ। करिब एक करोड ७० लाख लाग्ने देखिएको छ। बजेटको समेत व्यवस्था भएको छ’, उनले भने, ‘योजना हस्तान्तरण हुनासाथ फूलबारीको हरेक घरमा केही महिना भित्रै खानेपानी पुगाउन सकिन्छ।’ खानेपानी संस्थानले योजनाको अध्ययनपछि स्थानीय उपभोक्ताको घरमा धारा जोड्न एक करोड ७० लाख खर्च हुने स्टिमेट निकालेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस