सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका दुई पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सुरु

२०८० चैत्र २६, ११:५६ खबर संवाददाता

बैतडीः बैतडीका दुई पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सुरु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले उक्त अभियान सञ्चालन गरेको हो।

सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि पालिकास्तरीय संयोजन समिति गठन गरिएको छ। आइतवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिएको हो। उक्त समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा रहेकी छिन्।

८ ओटै वडाका अध्यक्षहरुलाई सदस्यमा राखिएको छ। पालिकाभरीका दुईओटा स्वास्थ्य संस्थाका प्रमुख, गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पालिका नजिकको एक विद्यालयका प्रधानाध्यापक र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत समितिमा राखिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

पालिकाका आठओटै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिने बताईएको छ। उक्त अभियान अन्तर्गत पालिकाभरी क्षयरोगका बिरामीहरुको खोजपडताल गरिनेछ भने खकार संकलन गरेर परीक्षणको काम गरिनेछ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। केन्द्रले बैतडीका दुई पालिका सहितका १ सय २५ पालिकामा उक्त अभियान सञ्चालन गरेको छ।

कमेन्ट लोड गर्नुस