खानेपानीको समस्याबाट छुटकरा पाउने योजना ल्याउन धनगढीवासीको माग

प्रदेशको अस्थायी राजधानीमै खानेपानीको समस्याबाट छुटकरा पाउने योजना ल्याउन उप–महानगरसंग धनगढीवासीले माग गरेका छन्। नगरमा अगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि योजना छनौटको प्रक्रिया चलिरहेका बेला उनीहरुले खानेपानीको अभावलाई पूर्ती गर्ने योजनालाई प्राथमिकतामा राख्न माग गरेका हुन्। स्थानीय तहहरुमा अगामी आर्थिक वर्षका लागि योजना छनोटका चरणहरु चलिरहेका बेला प्रदेशकै विकसीत स्थानीय तहका नागरिक भएर समेत शुद्ध खानेपानीबाट वञ्चित भएको भन्दै उक्त समस्या समाधान गर्ने खालका योजना ल्याउन स्थानीय शंकर शाहीले माग गरे।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ तारानगरको नमुना टोलका स्थानीयले पनि खानेपानीको योजना प्राथमकितामा राख्न माग गरेका छन्। आसपासका टोलमा खानेपानीको सुविधा भएपनि नमुना टोलबासी भने खानेपानीको पहँुच वाहिर रहेको स्थानीय सुरेस वानियाले बताए। झण्डै दुई सय घरधुरी रहेको नमुना टोलका स्थानीयले खानेपानीका लागि सम्बन्धीत निकायमा धाउँदा समेत सुनवाई नभएको समेत बताएका छन्।
शुद्ध खानेपानी नहुँदा अहिले पनि नमुना टोलका स्थानीय हाते पम्पको आर्सनिकयुक्त पानी पिउन बाध्य भएका छन्। प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उप–महानगरपालिकाको कार्यालय नमुना टोलबाट निकै नै नजिक छ। वडा नम्बर ५ को तारानगर क्षेत्र बढी सुगम मानिएको भएपनि सोहि क्षेत्रमा पर्ने नमुना टोल भने भौतिक पुर्वाधारका हिसावले पछाडी परेको गुनासो स्थानीयले गरेका छन । खानेपानीसंगै स्थानीयले वस्ती स्तरका सडक कालोपत्रेको योजना पनि समावेश गर्न माग गरेका छन्।




