गण्डकीको मुख्यमन्त्री बने खगराज अधिकारी
कास्कीः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था छ।
एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अधिकारी यसअगाडि पनि गण्डकीका मुख्यमन्त्री थिए। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए। कांग्रेसले भने एमाले र माओवादीको दाबी असंवैधानिक भएको भन्दै अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख भट्टसमक्ष अनुरोध गरेको थियो।