बझाङमा बाजागाजासहित यी उम्मेदवारहरुले गराए उम्मेदवारी दर्ता
धनगढीः बझाङमा बाजागाजासहित विभिन्न दलहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
आज (शनिबार) आफ्नो उम्मेदवारी दर्ता गराउन उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। बाजागाजा र नाजगानसहित दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। आगामी बैशाख १५ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। अभिषेक पृथ्वीबहादुरका जेठा छोरा हुन्। अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
त्यस्तै उप–निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएको छ। समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
उनले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। भण्डारी एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महरसहित नेता कार्यकताको जुलुस लिएर उम्मेदवारी दर्ता स्थल पुगेका थिए।
नेकपा माओवादी केन्द्रका जनक बुढाले पनि मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन्। नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ। राप्रपाका समर्थकहरु बाजागाजा र नारा जुलुससहित खड्काको उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।