सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोकेस्नल स्कुलको शिलान्यास हुँदै

२०८० चैत्र २४, १२:३४ कमल सावद

धनगढीः कैलालीको धनगढीमा भोकेस्नलको शिलान्यास हुँदैछ।

बेराजगार युवालाई सीपमुलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा भोकेसनल स्कुलका भौतिक संरचना निर्माणको काम सोमवारदेखि सुरु हुने भएको छ। सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका युवाले सीपमूलक तालिम लिन पाउने गरी धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनबिच फूलबारीमा स्कुल स्थापना गर्न सम्झौता भएको थियो।

सम्झौता अनुसार सोमवारदेखि आवाससहितका भौतिक संरचना निर्माणको काम सुरु हुने नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘फूलबारीमा प्राविधिक शिक्षाको तालिम जारी छ। प्लम्बिङ र इलेक्ट्रोनिकको तालिम सकिएको छ। ओल्डिङ्ग र कारपेन्टरको तालिम जारी छ। युवा लक्षित कार्यक्रम हो। युवालाई स्वरोजगार बनाउने कार्यक्रम हो। निः शुल्क तालिम हो।’

सुदूरपश्चिमका सबै पालिकाका युवाहरूलाई निःशुल्क सीपमूलक तालिक प्रदान गर्ने उद्देश्यले स्कुल स्थापना हुँदैछ। फूलबारी बहुमुखी क्याम्पसमा नेपाल युथ फाउन्डेसनको ओल्गापुरी भोकेस्नल स्कुलले प्लम्बिङ र हाउस वायरिङको तालिम दिएको छ। पहिलो चरणमा परिक्षणका रुपमा तालिम दिएकाहरुले काम सुरु गरेका छन्। 

प्लम्बिङमा २५ र हाउस वायरिङमा २८ जनाले तालिम लिएका छन्। चार विधामा तालिम सञ्चालन गरिएकोमा अन्य आवाससहितका संरचनाहरु निर्माणको काम पूरा भएपछि अन्य कार्यक्रमसमेत सुरु हुनेछन। फूलबारीमा भोकेस्नल स्कुल खोल्न नेपाल युथ फाउन्डेसनलाई ५३ रोपनी जग्गा उपलब्ध गराएको छ। स्कुलमा तीन महिने तालिम सञ्चालन गरिनेछ।

युथ फाउन्डेसनले सुरुमा चार विधामा तालिम प्रदान गर्नेछ भने त्यसपछि मागअनुसार विधा बढाइने र दोस्रो तहको तालिमसमेत दिने नेपाल युथ फाउन्डेसनले बताएको छ। धनगढी भोकेस्नल स्कुलको भवन निर्माण भएपछि पाँच वर्षसम्म नेपाल युथ फाउन्डेसनले नै स्कुल चलाउने छ। त्यसपछि भने सो स्कुल उपमहानगरलाई हस्तान्तरण गरिनेछ। स्कुल भवन निर्माण हुँदा समय लाग्ने भएकाले यो वर्षबाटै फूलबारी बहुमुखी क्याम्पसको भवनमा ३९० घण्टे सहायक प्लम्बर तथा विल्डिङ इलेक्ट्रिसियन, वेल्डिङ र सिकर्मी तालिक सञ्चालन गरिएको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस