सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका अपाङ्गता भएकालाई नि:शुल्क सहायता सामग्री वितरण गरिने

२०८० चैत्र २२, ०७:११ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले गत वर्ष झै यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सहायता सामग्री वितरण गर्ने भएको छ। गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष पनि सहायता सामग्री वितरण गर्ने भएको हो।

नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर लाग्ने भएको हो। फूलबारी क्षेत्रमा बुधवार शिविर लागेको छ भने बैशाख १२ गतेसम्म थप चार ठाउँमा स्क्रिनिङ्ग शिविर लाग्ने छ। स्क्रिनिङ्ग शिविरमा अपाङ्गताको किसिम र आवश्यक पर्ने सहायता सामग्रीको पहिचान र नापजाँच गरिनेछ। नापजाँच पश्चात् अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायता सामग्री प्रदान गरिनेछ।

बुधवार अर्थात् चैत २१ गतेदेखि धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्न स्क्रिनिङ्ग गर्न थालेको हो। गत वर्ष जस्तै यो वर्ष पनि नगरको विभिन्न पाँच ठाउँमा अपाङ्गता भएका व्यक्तिको पहिचान गरिनेछ। बुधवार वडा नम्बर १४, १८ र १९ का स्थानीयलाई लक्षित गरेर फूलबारी स्वास्थ्य चौकीमा स्क्रिनिङ्ग शिविर राखिएको हो।

फूलबारी क्षेत्रका ३ वडामा स्क्रिनिङ्ग गर्दा ५५ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन्। यो वर्ष धनगढी उपमहानगरपालिकाले सर्वाङ्गीण अपाङ्गता विकास समाजसँगको साझेदारीमा स्क्रिनिङ्ग शिविरमा पत्ता लागेका व्यक्तिहरूलाई आवश्यक सहायता सामग्री नि:शुल्क वितरण गर्नेछ। गत वर्ष पनि धनगढीका १७९ जना अपाङ्गता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री नि:शुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्। " गत वर्ष १७९ जनालाई २०५ किसिमका सहायता सामग्री वितरण गरिएको थियो। सहायता सामग्री वितरण गर्न ३२ लाख खर्च भएको थियो। यो वर्ष पनि सहायता सामग्री वितरण गर्न विभिन्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखिनेछ।"

बुधवार फूलबारी क्षेत्रका तीन वडामा स्क्रिनिङ्ग गरिएकोमा चैत २९ गते उर्मा स्वास्थ्य केन्द्रमा वडा नम्बर १५,१६ र १७ का सेवाग्राहीको स्क्रिनिङ्ग गरिनेछ। २०८१ बैशाख ९ गते वडा नम्बर ९,१० र १२ का सेवाग्राहीको घुइयाँघाट स्वास्थ्य चौकी, बैशाख १० गते वडा नम्बर ६, ११ र १३ का लागि घोडसुवा स्वास्थ्य चौकीमा स्क्रिनिङ्ग क्याम्प लाग्नेछ। यसैगरी बजार क्षेत्रका लागि बैशाख १२ गते नगरपालिका परिसरमा क्याम्प लाग्ने महिला विकास अधिकृत जोशीले बताइन्। यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएकोमा धनगढीको सर्वाङ्गीण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेन्डर पाएको हो। यो वर्ष शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई समेत सहायता सामग्री प्रदान गरिने भएको छ।

बजेट अपुग भएको अवस्थामा स्क्रिनिङ्ग गरिएका सम्पूर्ण व्यक्तिलाई सहायता सामग्री दिन समस्या नहुने उपमहानगरले जनाएको छ। सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति रहेको महिला विकास अधिकृत जोशीले बताइन्। धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्क्रिनिङ्ग शिविरमा सहभागी हुन वडा अध्यक्ष र सदस्यहरू तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत सूचना प्रवाह गरेको जनाएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्क्रिनिङ्ग क्याम्पमा सहभागी गराएर सेवा प्राप्त गर्न सहयोग पुगाउन आग्रह गरिएको छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस