सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रहरीले समात्यो ३१३ जुवाडे, ताससहित नगद बरामद

२०८० चैत्र २१, ११:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा तीन सय १३ जुवाडे पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो। प्रहरीले नगद र ताससहित सो संख्यामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो। चालु आर्थिक वर्षको ८ महिनामा प्रहरीले सबैभन्दा बढी कैलाली र कञ्चनपुरबाट जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जुवा खेलमा संलग्न तीन सय १३ जना पक्राउ परेको प्रहरीको अभिलेख छ। जुवाखेल विशेष गरि होटलमा बढी हुने गरेको पाइएको छ। जुवाखेल कैलालीको धनगढी, अत्तरिया, टीकापुर र कञ्चनपुरको महेन्द्रनगर, झलारी, वेलौरी, दोधारा–चाँदनी लगायत क्षेत्रमा बढी हुने गरेको छ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुबाट ताससहित नगद समेत बरामद गरेको छ। साथै जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा समेत चलाउने गरेको छ। जुवा खेलेको विशेष सूचनाका आधारमा प्रहरीले संलग्नहरुलाई पक्राउ गर्ने गरेको छ। मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ।

कमेन्ट लोड गर्नुस