सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १० स्थानीय तह गुरुयोजना विहिन

धनगढी जाखोर तालको गुरुयोजना
धनगढी जाखोर तालको गुरुयोजना
२०७६ जेठ ७, ०३:१६ कमल सावद

कैलालीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि तेश्रो बजेट ल्याउने तयारी भईरहेको छ तर बजेटमा समेट्ने योजना कार्यान्वयनका लागि भने गुरुयोजना समेत बन्न सकेको छैन्। निर्वाचित भएपछि विकास निर्माणलाई प्रमुख मुद्दा बनाएको बताउदै आएका जनप्रतिनिधिहरुले गुरुयोजना निर्माण गर्न ध्यान दिएका छैनन्। 

धनगढी उप–महानगरपालिका, टिकापुर नगरपालिका र घोडाघोडी नगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहले गुरुयोजना निर्माणको प्रक्रिया समेत सुरु गरेका छैनन्। धनगढी उप–महानगरपालिकाका केही गुरु योजना निर्माणको चरणमा छ भने केही पूर्ण भएका छन्। धनगढी जाखोर तालको गुरुयोजना निर्माणको काम पूर्ण भएको उप–महानगरपालिकाले दावी गरेको छ। बेहडाबाबा धार्मिक तथा पर्यटकिय क्षेत्र, मोहना घाट विकास आयोजना, फुलबारी चिल्ड्रेन पार्क र नेतुवा तालको गुरुयोजना निर्माण भएको ईन्जिनियर कमलराज ओझाले बताए। बाँकी गुरुयोजना पनि निर्माणको चरणमा रहेका उनको दावी छ।

धनगढी उप–महानगरपालिका बाहेक टिकापुर र घोडाघोडी नगरपालिकाका गुरु योजना निर्माणको कार्य गर्दै छन्। टिकापुर नगरपालिकामा सात बढि गुरु योजनाहरु निर्माणको चरणमा रहेका छन्। टिकापुर पार्क र बाहिरि चत्रपथ निर्माणको गुरुयोजना निर्माणको प्रक्रिया अन्तीम चरणमा पुगेको दावी गरिएको छ। 

घोडाघोडी नगरपालिकाले ताल संरक्षणका लागि निर्माण गर्ने भनिएको गुरु योजनाका बारेमा भने नगरपालिकाका प्रवत्तालाई पनि जानकारी छैन्। मेयर ममता प्रसाद चौधरीका दाई तथा घोडाघोडी ताल पर्यटन बोर्डका अध्यक्षले गुरुयोजनाको फाईल नै आफैसंग राखेकाले प्रवत्ता मनराज शाहीलाई जानकारी नभएको हो। घोडाघोडी ताल क्षेत्रको गुरुयोजना निर्माणको चरणमा रहेको थियो। 

केहि स्थानीय तहका जनप्रतिनिधिले त नगरको प्रोफाईललाई नै गुरुयोजना मान्ने गरेका छन्। गौरीगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवाले नगरको प्रोफाईल निर्माणका लागि प्रकृया सुरु गरेको बताए। नगर यातायात, चौमाला मोहन्याल मन्दीर, कृषि उत्पादन क्षेत्र लगायतको गुरुयोजना निर्माणको प्रकृयामा रहेको उनले बताए। तर गुरु योजना निर्माण भने भएको छैन्। 

गत आर्थिक बर्षमा एक पनि गुरु योजनाहरु नबनाएका स्थानीय तहहरु योजना छनौटको प्रक्रियामा छन्। तर गुरु योजनाका बारेमा कसैले पछि छलफल समेत गरेका छैनन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस