सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको कार्यालयमा विष सेवन गरेका राना डिस्चार्ज

२०८० चैत्र २०, ०९:५२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको कार्यालय भित्र विष सेवन गरेका गणेश राना डिस्चार्ज भएका छन्। धनगढी उपमहानगरपालिका–६ का जग्गा कारोबारी राना १५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट घर फर्किएका हुन्।

धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर चैत ६ गते रानाले विष सेवन गरेका थिए। विष सेवन गरेर बेहोस भएका राना मङ्गलवार घर फर्किएका अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएपछि सेती प्रादेशिक अस्पतालले घर पठाएको हो।

कैलाली जग्गा तथा आवास विकास संघको तदर्थ समिति सदस्य रहेका रानाले चैत ६ गते मङ्गलवार विष सेवन गरेका थिए। धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्दै गर्दा उनले किरा मार्न प्रयोग गरिने विषदी सेवन गरेका थिए। धनगढीमा जग्गाको कारोबार बन्द भएपछि जग्गा कारोबारीले विरोध गरेका थिए। रानाले नगर प्रमुख गोपाल हमाललाई धम्की दिएको भन्दै प्रहरीमा निवेदनसमेत दर्ता गरिएको थियो। त्यसपछि नगरप्रमुख हमालले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका थिए। जग्गा कारोबारीहरूले चैत ४ गते उपमहानगरपालिकाको प्रवेशद्वारमा तालाबन्दीसमेत गरेका थिए। तर प्रहरीले ताला फोडेको थियो।

जग्गा कारोबारीले सर्वोच्च अदालतमा दिएको मुद्दाको पेसी भदौ २३ गते सरको छ। मुद्दाको पेसी पाँच महिना पछाडि सरेपछि धनगढीका जग्गा कारोबारी नगर प्रमुख गोपाल हमालको विरुद्धमा रहेका छन्।

गत मंसिरमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० पारित गरेको र सो कार्यविधिमा नयाँ प्लटिङ्गमा १० मिटर चौडा सडक हुनुपर्ने तथा प्लटिङ जग्गाको ५ प्रतिशत जमिन सार्वजनिक प्रयोगका लागि राख्नुपर्ने प्रावधानको जग्गा कारोबारीले विरोध गर्दै आएका छन्। कार्यविधि राजपत्रमा प्रकाशित हुना साथ उक्त प्रावधानको विरोधमा धनगढीका जग्गा कारोबारी आन्दोलित भएका थिए।

धनगढीका जग्गा कारोबारीले गत माघ १० मा उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। जग्गा कारोबारी उमेश गिरीले उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्। जग्गा कारोबारीले धनगढी उपमहानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

 

कमेन्ट लोड गर्नुस