सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपाल लगातार दोस्रो खेलमा विजयी

२०८० चैत्र २०, ०७:२२

काठमाडौँ : भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो। 

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राज्यो। नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो। एक सय ५७ रनको विजयी लक्ष्य पछयाउने क्रममा भारतको बरोडाले सवै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो। 

बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए। उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए। 
बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक विकेट लिए। 

यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए। 

बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस