रानाथारु समुदायको एक विशेष चाड खखडेहरा पर्व
मानसिंह धामी– सुदूरपश्चिमको तराईको अन्नको भण्डार मानिने विशेष गरि कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायको यो पर्वको विशेष महत्त्व रहेको छ।
खखडेहरा पर्व नौलो पर्व लागेता पनि राना समुदायका जानकारहरूसंग साक्षात्कार गर्दा र विभिन्न सामाजिक सञ्जालबाट प्राप्त जानकारीका आधारमा यो पर्वको विशेष महत्त्व रहेको जानकारी पाउँदा संस्कृतिविद नभए पनि यो खखडेहरा पर्वको थप खोज अनुसन्धानगर्न लालायित भएको छु।
आफू रानाथारु समुदायको नागरिक नभएता पनि जानकारहरूबाट प्राप्त जानकारीको आधारमा खखडेहरा भनेको के हो ? यो पर्व किन मनाइन्छ ? यसको महत्त्व के छ ? आदि कुराहरू यो लेखमा समेट्ने प्रयास गरेको छु। होली पर्वको क्रममा मनाइने खखडेहरा रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व हो। तराईका जिल्लामा बसोबास रहेको रानाथारु समुदायले एक महिना आठ दिनसम्म होली पर्व मनाउने गर्दछन्। होली पर्वकै अन्तिम ३८ औं दिनमा यो पर्व धूमधामसंग मनाउने गर्दछन्।
सदियौँ देखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारु भूत पिचास, दरिद्रता, महामारी जस्ता निकै ठुला बिपत्तिहरूको सामना गर्दै आइरहँदा होलीमा सबै महिनौँ दिन रमाउँदा काममा बाधा अवरोधका साथै थुप्रै समाजिक समस्या, रोग, दरिद्रता, भूत पिसाच, स्वास्थ्य लगायतका क्षेत्रमा समस्या निराकरणगर्न सामुहिक रुपमा खखडेहरा फुटाउने चलन रहेको छ। खखडेहरा सबै समस्या विशेषगरि भूतप्रेतको प्रतिक पनि हो। जो गाऊँ भन्दा बाहिर जंगलमा गएर आजकै दिन फुटाउने र कुट्ने गरिन्छ।
तराई क्षेत्रमा गृष्म ऋतुसँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ति प्रकोपहरु नआउन भनेर सामुहिक रुपमा आदिवासी रानाथारुहरुले खखडेहराको नाममा ति सबै समस्यालाई कूटेर फुटाइ गाउँमा मनोबल बढ्ने हुँदा भूत पिसाच रहित सुखी समाजकोलागि खखडेहरा पर्वको प्रचलन भएको रानाथारु जानकारहरु बताउँछन।
रानाथारु समुदायले होली पर्व भिन्नै तरिकाले मनाउँछन्। होली पर्व यस समुदायको लागि सबै भन्दा ठूलो पर्वको रुपमा रहेको छ। रानाथारु समुदायले ३८ दिनसम्म होली मनाउने गर्छन्। माघको पूर्णिमाका दिन होली राखिन्छ र त्यसै दिन देखि होली सुरु हुन्छ। माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिवित) होली रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होलीमा आगो लगाउने गरिन्छ । होलीमा आगो लगाएको अर्कोदिन होली जलेर निस्केको खरानीको टिका लगाउने गर्दछन्।
यसरी टिका लगाउँदा सु–स्वास्थ्य हुने, रोगनलाग्ने तथा दीर्घायु हुने रानाथारु समुदायको विश्वास रहेको छ। टिकाको दिन देखि ८ दिन सम्म मरी होली (मरेको होली) खेल्दछन्। मरी होली रातमा र दिनमा पनि खेल्ने गर्दछन्। टिकाको आठौँ दिन नै खखडेहरा हो। खखडेहरालाई होलीको बिदाईको दिनका रुपमा पनि लिइन्छ। खखडेहराका दिन बिहानै उठेर गाउँ भरीका प्रत्येक घरबाट एक एक जना मान्छे खखडेहरा फुटाउन जंगलमा जाने गर्दछन। खखडेहरा फुटाउन जाँदा फोंलो (गाग्रो), कसुणो (लोटा), खपटेलका टुक्रा, माटोको मट्याङग्रा, शुद्ध पानी, गुइँठा (सुकेको गोबर) आदि प्रयोग गरिन्छ।
घर घरबाट एका बिहानै माटोको भाँडोमा सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ लुली लंगडी, कानी खुत्री, रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खखडेहरा लगेर जाने चलन रहेको छ । खखडेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एकमुष्ट पारी (पल्लो) गाउँको प्रधान वा चाकर (गाउँको चौकीदार) ले फुटाउने चलन छ। खखडेहरा फुटाइ सके पछि सहभागीहरू सबै आ–आफ्नो घर तिर लाग्छन् र खखडेहरालाई फर्केर नहेर्ने चलन रहेको छ। फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भन्ने रानाथारु पूर्खाको भनाई छ।
खखडेहरा फुटाएर आउनेहरु फेरि होलीमा जलाइएको खरानी लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशिर्वाद दिँदै खुशीयाली मनाउने गर्छन र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन् साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतिपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरि गोरु गाडा चलाएमा डण्ड जरिवाना गर्ने चलन रहिआएको छ। रानथारु समुदायको एक जना मानिससंगको भलाकुसारी र सो पर्वको बारेमा जिज्ञासा राख्दा उक्त दिन खानाका मिठा मिठा परिकारहरू बनाई रमाइलो गर्दै घरपरिवारका सबै सदस्य जमघटभई खाने गर्दछन्। खखडेहरा पर्व २०८० को उपलक्ष्यमा रानाथारु समुदाय तथा यो पर्व मनाउने सम्पूर्ण समुदायमा हार्दिक मङ्गगलमय शुभकामना व्यक्त गर्दछु।
–लेखक कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन्।