सडक किनारमा गाडिएका तारहरू धनगढी उपमहानगरले व्यवस्थित गर्दै
धनगढीः कैलालीको धनगढीमा सडक किनारामा गाडिएका पोल (खम्बा) मा जथाभावी रुपमा तानिएका तारहरू व्यवस्थित गर्ने काम सुरु भएको छ।
धनगढी उपमहानगरपालिकाको पहलमा सडक किनारमा जथाभावी रूपमा तानिएका तारहरू व्यवस्थित गर्न थालिएको हो। उपमहानगरको मुख्य बजार क्षेत्र र अन्य स्थानका सडक किनारामा गाडिएका बिजुली तथा टेलिफोनका पोलहरूमा इन्टरनेट, केवुल टिभी तथा टेलिफोनका तारहरू जथाभावी रुपमा तानिएका कारण सहर कुरुप बन्नुका साथै दुर्घटनाको पनि कारण बन्ने गरेको छ।
धनगढी उपमहानगरपालिकाको पहलमा नगर क्षेत्रभित्रका पोलहरूमा रहेका अनावश्यक तारहरू हटाउने कार्य अघि बढाइएको छ। उपमहानगरपालिका कार्यालयका अनुसार शनिबारदेखि ६ लेन सडकको दुवै तर्फबाट तारहरूको व्यवस्थापन गर्ने कामको शुरूवात गरिएको छ। त्यो क्रम अब नगरका सबै क्षेत्रमा शुरु गरिने छ।
उपमहानगरपालिका क्षेत्रमा इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरूसँग गत चैत ४ गते भएको छलफलमा ‘आगलागी एवं विपद् जोखिमबाट बच्न र सहरको सौन्दर्यीकरण राख्न जथाभावी र अनावश्यक रूपमा तानिएका तारहरू हटाउने’ निर्णय भएको थियो।
धनगढी उपमहानगरपालिकाले धनगढीलाई स्वच्छ र सफासुन्दर बनाउन चरणवद्ध रुपमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। उपमहानगरपालिकाले प्लास्टिकजन्य वस्तुको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइसकेको छ भने घरेलु र बाह्य फोहोरमैला व्यवस्थापन कार्य पनि जारी छ।