सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिमा प्रयोग हुँदै आएका परम्परात औजार हराउन थाले

२०८० चैत्र १७, ०४:४७ रासस

कञ्चनपुरः परम्परागत रुपमा कृषि कार्यमा प्रयोग हुँदै आएका औजारहरु हराउँदै जान थालेका छन्। कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि परम्परागत कृषिमा प्रयोग हुने सामान हराउँदै जान थालेका हुन्।

खेत जोत्नका लागि पावर टिलर, ट्याक्टर, चुटनका लागि थ्रेसरको प्रयोग हुन थालेपछि किसानले गोरु, राँगालगायत पशुचौपाया पाल्नै छाडेका छन्। “परापूर्वकालदेखि गोरु र राँगाबाट नै खेत जोत्ने कार्य हुँदै आएको थियो,” शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ६७ वर्षीय गिरिराज डगौराले भने, “गोरु पाल्ने कार्य नै छाडेपछि पुराना कृषि कार्यमा प्रयुक्त हुने सामान हराउने नै भए।” गोरु, राँगा पाल्नेसहित जोत्नका लागि हलो, जुवा, केलवाई, हेङ्गा महत्वपूर्ण सामान हराउँदै जान थालेको उनले बताए।

हलो जुवामा अड्काउनका लागि प्रयोग हुने हलौडो (नाधा) छालाबाट बनेको हुन्थ्यो भन्दै उक्त हलौडो पाउन छाडेपछि डोरीको प्रयोग हुन थालेको भगतराम लुहारले बताए। “बारीमै लगाएको जुटबाट गोरु बाँध्न डोरी बनाइन्थ्यो,” उनले भने, “अहिले जुट लगाउन छाडेपछि बजारबाट प्लास्टिकका डोरीलाई प्रयोगमा ल्याउन थालिएको छ।”

बेलडाँडीका पर्शुराम डगौराले भने, “तोरी पेल्नका लागि अहिलेको जस्तो मिलहरु थिएनन्, काठको कोल्ह बनाएर घुमाउँदै तोरी पेल्ने कार्य हुन्थ्यो, काठको कोल्हुमा तोरी पेल्ने चलनबाट दशकअघि देखि नै हराएको छ।” श्रम गर्ने बानीकै कारण पहिलाका मानिस शारीरिक रुपमा तन्दुरुस्त हुने गरेका उनको भनाइ छ।

“अहिले जस्तो रासायनिक मल र विषादीको प्रयोग नभई कृषिमा पहिला घरकै गोबरमलको प्रयोग हुन्थ्यो। यसले गर्दा उत्पादन भएको अन्न, तरकारीलगायत स्वास्थ्यवद्र्धक थिए”, आशिष चौधरीले भने, पुरानो कृषि पद्धतिलाई जोगाउनका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने यस क्षेत्रका कृषि विज्ञहरु बताउँछन्।
 

कमेन्ट लोड गर्नुस