सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पाँच वडामा मुङ खेती गरिँदै, उपमहानगरबाट ७५ प्रतिसत अनुदान

२०८० चैत्र १७, ११:१३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले गत वर्ष र यो वर्ष पाँच वडामा मुङ खेती गर्न किसानलाई बिउमा अनुदान दिएको छ।

गत वर्ष बिउमा सतप्रतिशत अनुदान दिएको उपमहानगरले यो वर्ष ७५ प्रतिशत अनुदान दिएको हो। मुङको बिउमा अनुदान दिएर उत्पादन बढाउने योजना भए पनि किसानको भने मुङ खेतीमा आकर्षण बढेको छैन। गत वर्ष १९१ जनाले अनुदानको बिउ लगेकोमा यो वर्ष ५७ जना किसानले मात्रै बिउ लगेका छन्।

आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङ खेती गर्न सकिने भएपनि किसानको आकर्षण भने बढ्न सकेको छैन। धनगढी उपमहानगरपालिकाले मुङ खेती प्रवर्द्धन गर्ने नीति लिएको छ। सोही नीतिअनुसार गत वर्ष पाँच वडाका किसानहरूलाई मुङ खेती गर्न बिउमा उपलब्ध गराइएको थियो।

उपमहानगरले कृषि विकास निर्देशनालयबाट प्राप्त बिउ वडा नम्बर ६, ९, १२, १७ र १८ का १९१ जना किसानलाई निःशुल्क उपलब्ध गराएको थियो। गत वर्ष धनगढीमा किसानहरूले ७५ बिघामा मुङ खेती गरेको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए।

‘गत वर्ष कृषि विकास निर्देशनालयबाट प्राप्त मुङको बिउ निःशुल्क पाँच वडाका किसानहरूलाई वितरण गरिएको हो’, उनले भने, ‘गत वर्ष धनगढीका १९१ जना किसानले ७५ बिघामा मुङ खेती गर्दा २० टन उत्पादन भएको तथ्याङ्क छ।’ गत वर्ष किसानहरूले गहुँ काटेपछि मुङ खेती गरेका थिए।

जसका कारण रोपाइँ गर्दासम्म पूरै बाली भित्र्याउन पाएका थिएनन्। जसले गर्दा केबल २० टन मात्रै मुङ उत्पादन भएको कृषि शाखा प्रमुख उपाध्यायले बताए। गत वर्ष निःशुल्क बिउ वितरण गरेको उपमहानगरले यो वर्ष ७५ प्रतिशत अनुदान दिएकाले केबल ५५० किलोग्राम बिउ मात्रै किसानले लगेका छन्।

अनुदानमा पाएको बिउले यो वर्ष ३० बिघामा मुङ खेती गरिएको छ। गत वर्ष खेती गरेका किसानले थप ५० बिघामा मुङ खेती गरेको उपमहानगरको कृषि शाखाले जनाएको छ। मुङ खेतीमा राम्रो आम्दानी हुने भए पनि खेती गर्दा हरेक तीन चार दिनको अन्तरमा कोसा टिप्नुपर्ने, समय–समयमा सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानले रुचि नदेखाएको कृषि शाखा प्रमुख उपाध्यायले बताए। ‘मुङ गहुँ काटेपछि अथवा हिउँदे बाली भित्र्याएपछि खाली जमिनमा मुङ खेती गर्न सकिन्छ।

धनगढीका सबै वडाहरूमा मुङ खेती गर्न सकिने भए पनि हरेक तीन चार दिनमा कोसा टिप्नुपर्ने, सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानहरूले खेती गर्न उत्साह नदेखाएको हामीलाई लागेको छ।

अनुदान भनेपछि दौडेर आउने, मेहनत गर्ने बानी नभएकाले पनि खेती गर्ने किसानको संख्या बढ्न नसकेको हामीहरूलाई लागेको छ।’ गत वर्ष किसानले उत्पादन गरेको मुङ १२० रुपैयाँ किलोग्रामका दरले बिक्री गरेको उपमहानगरपालिकाले जनाएको छ। हिउँदे बाली भित्र्याएपछिको खाली जग्गामा मुङ खेती गर्न सके किसानले राम्रो आम्दानी गर्ने भए पनि मेहनत गर्न अल्छी गर्दा मुङ खेतीको क्षेत्र विस्तार हुन सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस