सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती परिवारकै सदस्यबाट हिंसामा

२०७८ जेठमा लक्ष्मी भाट र उनकी दुई वर्षीया छोरी अस्पताल नै भर्ना भएका थिए।
२०७८ जेठमा लक्ष्मी भाट र उनकी दुई वर्षीया छोरी अस्पताल नै भर्ना भएका थिए।
२०८० चैत्र १५, १२:३० खबर संवाददाता

धनगढीः डोटीको आदर्श गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी भाटलाई २०७८ जेठ १३ गते आफ्नै श्रीमानले जलाए।

उनको विभिन्न अस्पतालमा उपचार भयो। लक्ष्मी गर्भवती थिइन् भने उनीसँगै जलाइएकी २ वर्षकी छोरी जलेर घाइते भएकी थिइन्। श्रीमती र छोरीको हत्याको प्रयास गरेको आरोपमा त्यतिबेला पक्राउ परेका सन्तोष भाटमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सन्तोषलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको थियो। उनी लक्ष्मीका श्रीमान हुन्। त्यस्तै श्रीमान् वैदेशिक रोजगारीमा रहेका बखत सासू, ससुरा र जेठाजुले घरेलु हिंसा गरेको ठहर गर्दै दार्चुला जिल्ला अदालतले २०७६ असोजमा तीन जनालाई जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो।

निवेदक विमला जोशीको फिरादमाथि फैसला गर्दै अदालतले ६५ वर्षीय ससुरा प्रमानन्द, ५५ वर्षीया सासू पार्वती र ३० वर्षीय जेठाजु श्यामराज जोशीलाई सजाय तोकेको थियो। निवेदकले शारीरिक, यौनजन्य र आर्थिक यातना दिएको दाबी गरेकी थिइन्। घरेलु हिंसा कसुर र सजाय ऐन, २०६६ ले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ। 

यस्ता घटना सुदूरपश्चिममा बढ्दै गएको छ। सहरदेखि गाउँघरसम्मै यस्ता घटनामा वृद्धि भइरहेको हो। यसबाट सबैभन्दा बढी महिला र कतिपय अवस्थामा बालबालिका समेत पीडित बन्ने गरेका छन्। घरेलु सम्बन्धलाई थप स्पष्ट पार्दै ऐनको दफा २ (ख) ले वंशज, विवाह वा धर्मपुत्र, धर्मपुत्री भएका वा संयुक्त परिवार, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूको बिचमा भएको सम्बन्ध बुझ्नुपर्ने उल्लेख छ।

यसरी घरेलु सम्बन्धमा हुनेलाई कुटपिट गर्ने, थुनामा राख्ने, कुनै हिसाबले चोट पुर्‍याउने, पोल्ने, डाम्ने, शरीरमा पीडा गराउने कुनै कार्य गर्ने गराउने गर्नुहुँदैन। उनीहरूलाई आर्थिक र यौनजन्य यातनासमेत दिन नहुने ऐनमा छ। यसैगरी, मानसिक यातना दिँदासमेत घरेलु हिंसाको कसुर हुन जान्छ। साढे पाँच वर्षको अवधिमा सुदूरपश्चिममा पाँच हजार आठ सय ४१ घरेलु हिंसाका घटना भएका छन्।

कमेन्ट लोड गर्नुस