सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सेल्फी’ खिच्न गोदावरीको पुल रोजाइमा पर्दै

२०८० चैत्र ८, १०:३३ रासस

धनगढी : कैलालीको चुरे पहाडको फेदमा रहेको गोदावरी नदी माथिको पुरानो पुलमा आइतवार ‘सेल्फी’ खिच्नेको भीड थियो। साथीहरूसँगै सेल्फी लिँदै गरेका कञ्चनपुरका युवा सन्तोष रानाले भने, ‘घुम्न आउनेहरूका लागि यो पुल पहिलो रोजाइमा पर्छ, वनभोजका लागि पनि यो ठाउँको वातावरण पनि रमाइलो छ।’

घुम्नकै लागि पुलमा पुगेका कञ्चनपुर कृष्णपुरकै युवा कपिल भट्ट वरिपरि चुरे पहाड, नदीको सतहदेखि ३०-४० मिटरको उचाइमा रहेको पुलको दृश्य निकै रमाइलो लागेको बताए। उनले भने, ‘घुम्न आउनेहरूका लागि यो पुल पछिल्ला वर्षमा आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ।’

पुलमा सेल्फी लिने र वरिपरिको प्राकृतिक वातावरणको दृश्यावलोकन गर्नेको दैनिक भीड लाग्ने गर्दछ। अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुइँचो हुने गरेको स्थानीयले बताएका छन्। सडक सञ्जालका दृष्टिमा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको गोदावरी प्रदेशको मुख्य तीर्थस्थल पनि हो।

काठ, फलाम र स्टिल प्रयोग गरी झण्डै छ दशकअघि बनेको यो पुल जीर्ण भएपछि एक दशकअघिदेखि पुलमा सवारीसाधान आवागमन बन्द गरिएको थियो। धनगढी–डडेलधुरा राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को सडकखण्डमा पर्ने यो पुल जीर्ण भएपछि विकल्पमा सोही ठाउँमा पक्की पुल निर्माण गरिएको छ।

पुरानो पुलबाट यातायात आवागमन बन्द गरिएपछि यसलाई रङरोगन र ध्वजापताकाले सिँगारिएको मात्र नभई ठाउँठाउँमा राष्ट्रिय झण्डा पनि फहराएर आकर्षक बनाइएको छ। घुम्ने पर्यटकको सुरक्षाका लागि पुलको दुवैतर्फको भागमा जाली लगाइएको छ। पुलको अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक पनि आउने गरेको स्थानीयवासीको भनाइ छ।

यो क्षेत्रमा रहेको ५१ फिट अग्लो हनुमानको मूर्ति विशेष आकर्षक मानिन्छ। गोदावरीलाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण स्थल पनि तोकिएको छ। तर, राजधानी निर्माणका लागि हालसम्म ठोस कुनै काम भने अघि बढ्न सकेको छैन। वडाध्यक्ष हेमप्रकाश मल्लले सडक विभागअन्तर्गत पुल पर्ने भएकोले यो पुरानो पुल मर्मत र अन्य क्रियाकलापका लागि वडा तहबाट पहल गरिने बताए।

उनले भने ‘पुरानो पुल पर्यटकको आकर्षण स्थल बन्न थालेको यसलाई पर्यटकीय क्षेत्रका रूपमा थप विकास गर्न पहल गरिनेछ।’ यस क्षेत्रमा हरेक वर्ष मकरसङ्क्रान्तिको समयमा बाह्र राशि दर्शन मकर मेलाजस्ता धार्मिक गतिविधि गर्न सुरु गरिएसँगै बढेको भक्तजनको चहलपहलले यो धार्मिक पर्यटनको गन्तव्य क्षेत्र पनि बन्ने देखिएको छ। पर्यटकलाई लक्षित गरी उक्त क्षेत्रमा पछिल्लो समयमा आधुनिक होटेल रिसोर्टलगायतका संरचना पनि निर्माण हुन थालेका छन्। धनगढीदेखि २२ किलोमिटर उत्तरतर्फ रहेको यो गोदावरी धाम क्षेत्रमा गोदावरी नदी, छेउमा मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेको छन् । मकरसङ्क्रान्तिका दिन यो क्षेत्रमा सदियौँदेखि मेला पनि लाग्ने गरेको छ।

यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ। वृद्ध गौतमका नामलेसमेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्दपुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ। यसका साथै गोदावरीमा भगवान् राम भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ।

 

कमेन्ट लोड गर्नुस