सुदूर नेपाललाई विश्वसँग जोड्दै

परशुरामका कर्मचारी आन्दोलित, निधारमा कालोपट्टी बाँधेर विरोध

२०८० चैत्र ४, ०३:५४ खबर संवाददाता

डडेल्धुराः कार्यपालिका बैठकमै निमिक्त प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्।

साथै उनीहरुले सेवा समेत ठप्प पारेका छन्। कर्मचारीहरुले आइतवार निधारमा कालोपट्टी बाँधीर अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन्। गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो।

उपमेयर विमलाकुमारी बोहरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो। परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत शोभा जोशीका अनुसार कार्यालय परिसरमा कर्मचारीहरू टाउकोमा कालोपट्टी बाँधीर विरोध जनाइरहेका छन्। प्रहरीले जाहेरीसम्म दर्ता नगरेको कर्मचारीको गुनासो छ। नगर प्रमुख र उपप्रमुखले तत्काल छलफलमा बोलाएर सहमति गर्नुपर्ने कर्मचारीको माग छ।

कमेन्ट लोड गर्नुस