चेतनाको विकाससँगै आर्थिक रूपमा पनि सक्षम बन्दै दलित महिला
धनगढी: समाजको सबैभन्दा पिछडिएको वर्गमा पर्ने दलित महिला पछिल्लो समय सामाजिक चेतनामा मात्र नभई आर्थिक रूपमा पनि सक्षम बन्न थालेका छन् ।
कैलालीका विभिन्न पालिकामा दलित महिला संघ (फेडो)ले सञ्चालन गरेका विभिन्न परियोजना पछि ती स्थानका दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा उल्लेखनीय परिवर्तन आएका जनाइएको छ ।
फेडो कैलालीका अनुसार कैलालीमा परियोजना सञ्चालन पछि २०२३ सम्म कैलालीमा ५१ समूह निर्माण गरी एक हजार दुई सय ५ जना दलित महिलालाई समूहमा आबद्ध गरिएको थियो ।
जसमा अपाङ्गता भएका ३१ र एकल ९७ जना समेत समेटिएका थिए ।
समूहमा आबद्ध महिलालाई फेडोले राजनीतिक तथा सामाजिक न्यायमा पहुँच पु¥याउन विभिन्न कार्यक्रम सँगै आर्थिक रूपमा सक्षम बनाउन पदमशील तालिम र बीज पूजी प्रदान गरिएको थियो ।
जसका ३२, समूहका महिलाको औसत मासिक आम्दानी ४ हजार पुगेको, ४ सय १४ महिला स्वरोज्गार बनेका फेडो कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए । फेडोले २०३२ सम्म ८५ जना उद्यमी महिलालाई पनि उत्पादन गरेको छ । संयोजक घिमिरेका अनुसार निरन्तरको अभिमुखीकरण पछि आएको सचेतनाका कारण एक सय ८७ जना महिला न्यायको पहुँचमा पुग्न सफल भएका छन्, भने एक सय ४० महिलाले कम हिंसा महसुस गरेको, २७ जना महिला मनोसामाजिक परामर्शबाट लाभान्वित भएका र २० वर्ष पछि मात्रै विवाह गर्ने किशोरीको अनुपात पहिलाको भन्दा ५० प्रतिशत बढेको छ ।
पछिल्लो समय २०३२ देखि फेडोले कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकामा ‘दलित महिला र किशोर किशोरीको मानव अधिकार सुदृढीकरण’ परियोजना सञ्चालन गरिरहेको छ ।
सन् २०२३ को मे महिनादेखि २०२६ अप्रिलसम्म यो परियोजना सञ्चालन हुने जनाइएको छ । सामाजिक न्याय र लैङ्गिक न्यायमा पहुँच बढाउन र दलित महिला बालबालिका र किशोरी तथा अन्य सिमान्तकृत समुहको मानव अधिकार प्रवर्धनमा (फेडो) लागीरहेपनि सञ्चार क्षेत्रबाट हुने सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासङ्घ कैलालीका सचिव प्रेम दहितले बताए ।
सामाजिक परिचालन, आर्थिक सशक्तीकरणको माध्यमबाट दलित महिला बालबालिका र किशोरीहरूको अधिकारको संरक्षणमा पनि तिन तहकै सरकार लाग्नुपर्ने उनको भनाई छ ।
दलित महिला संघ (फेडो) कैलालीका कार्यक्रम संयोजक घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक विनोद घिमिरेले दलित महिला, किशोरी र एकल, असक्षम र यौनिक अल्पसंख्यक तथा मानव अधिकारबाट बढि वञ्चित समूहहरूलाई लक्षित गरी कार्यक्रम लागु भएको जानकारी दिए ।
परियोजनाले सामाजिक न्याय र लैङ्गिक न्यायमा पहुँच बढाउन र दलित महिला, बालिका र अन्य सीमान्तकृत समूहहरूको मानव अधिकार प्रवर्धन गर्न राज्य र गैरराज्य पक्षलाई जवाफदेही र उत्तरदायी बनाउने लक्ष्य राखेको छ ।
त्यस्तै, लक्षित समूहहरूको मानवअधिकार, सामाजिक र लैङ्गिक न्याय प्रवर्धन–संरक्षण गर्न नागरिक शिक्षा, क्षमता निर्माण र नारीवादी अन्तरपुस्ता आन्दोलनलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । त्यस्तै, सामाजिक परिचालन र आर्थिक सशक्तीकरणमार्फत लक्षित समूहहरूको सामाजिक–आर्थिक अधिकारको संरक्षणका साथै सरकारी स्रोत र अवसरहरूमा पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ ।
जिल्ला कार्यक्रम संयोजक घिमिरेले परियोजना अन्तर्गत जनचेतनामूलक अभियान, मुद्दा अनुगमन, विभिन्न तहमा वकालत, नीति समीक्षा, विश्लेषण र बहु सरोकारवाला सँग संवाद, महिला राजनीतिक नेता र दलित महिला जनप्रतिनिधि सँगको संलग्नता, महिला विरुद्धको हिंसा र जातमा आधारित विभेद विरुद्ध नागरिक शिक्षा अभियान सञ्चालन हुने बताए ।
फेडोले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै सन् २०२३ मा परियोजनाबाट भएका उपलब्धि बारे जानकारी गराएका थिए । सो अवसरमा संस्थाले परियोजनामार्फत सन् २०२३ मा गरेका गतिविधि र प्राप्त उपलब्धिहरूबारे समेत जानकारी गराइएको थियो ।
परियोजना अन्तर्गत जातीय विभेद र महिला हिंसाका मुद्दाहरूमा महिला अधिकार रक्षकहरूको विकास, कानुनी सहायता र साक्षरता अभियान, छलफल चौतारी, मिडिया परिचालन, महिला समूहमार्फत सामाजिक–आर्थिक सशक्तीकरण, महिला उद्यमशीलता विकास, नीति, कार्यक्रम र बजेट वकालत अभियान लगायतका गतिविधि पनि सञ्चालन हुने संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका कैलाली अध्यक्ष सविना सुनारले दलित महिला र किशोरीहरूको मानवअधिकार सम्वर्द्धन अभियानमा मिडियाको प्रभावकारी भूमिका रहेको चर्चा गर्दै सामाजिक न्यायको सवालमा सबै पक्षको सहयोग र समन्वयका लागि आग्रह गरेकी छिन् ।