रूसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु
काठमाडौँः बिहीवार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ।
धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीवार निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले उनीहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ। परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ। 