सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुर्रा भैँसी घरमै पुगाउने भन्दै भारतीयबाट कैलालीका किसान ठगिए

२०८० चैत्र १, ०६:५४ नारायण अवस्थी

धनगढीः कैलालीको गौरीगङ्गा– १० उदासीपुरका किसान पुष्कर अवस्थी मुर्रा भैँसी बिक्री सम्बन्धी प्रचार सामग्री राखिएको फेसबुक पेज भेट्टाउँछ्न। भैँसी पालन गर्दै आएका अवस्थीले पेजमा उल्लेख भएको ह्वाट्सप नम्बर ९५४२५६६७०३ मा सम्पर्क गर्छन्।

पेजमा उल्लेख गरिएअनुसार नै जयप्रकाश जाट नाम गरेका व्यक्तिले राजस्थानको जयपुरमा आफ्नो भैँसी फार्म रहेको र नेपालको जुनसुकै स्थानमा ६५ हजार भारतीय रुपैयाँमा मुर्रा भैँसी पुगाउने बताउँछन्। दैनिक १६ लिटर दुध दिने मुर्रा भैँसी ६५ हजार भारु अर्थात् नेपाली रुपैयाँ एक लाख चार हजारमा पाउने भएपछि अवस्थी दुई भैँसी किन्न सहमत हुन्छन्। अवस्थीले भारतमै रहेका आफन्तलाई जयप्रकाशले भनेअनुसार खातामा पैसा ट्रान्सफर गर्न लगाउँछन्।

भैँसी बुझ्न गौरीफन्टा नाकामा जाँदा जब जयप्रकाशसँग अवस्थीको फोन सम्पर्क हुन्न तब मात्रै ठगिएको चाल पाएको अवस्थीले बताएका छन्। ‘गाई भैँसी पालन सम्बन्धी सम्पूर्ण जानकारी दिने भन्दै खोलेको फेसबुक पेजबाट जयपुरको जयप्रकाश जाटसँग कुराकानी भएको हो। उसले दैनिक १६ लिटर दुध दिने भैँसी ६५ हजार भारुका दरले घरमै पुगाउने भनेको हो,’ अवस्थीले भने, ‘सुरुमा २६ हजार खातामा हाल्न लगायो। आफन्तलाई भनेर त्यो रकम हाल्न लगाए। त्यसपछि विभिन्न बाहाना बनाउँदै जयप्रकाशले पैसा असुल गरे।’

जयप्रकाशले भैँसी ल्याउन सुरुमा २६ हजार रुपैयाँ उपलब्ध गराउन अवस्थीलाई सहमत गराउँछन्। त्यसपछि जयप्रकाशले भैँसी गाडीमा लोड भएको भिडियो देखाउँदै र हरियाणा– दिल्ली– बरेली हुँदै वनगाउँ पुगेको भन्दै अनेक बाहना बनाएर अवस्थीबाट ६ पटक गरेर जम्मा एक लाख १९ हजार चार सय ९९ भारती रुपैयाँ अर्थात् नेपाली एक लाख ९१ हजार एक सय ९८ रुपैयाँ असुल गरेको पीडित अवस्थीले बताएका छन्।

अवस्थीले भारतमा रहेका आफन्तहरूलाई आग्रह गर्दै जयप्रकाशले भने अनुसार पटक पटक उसको खातामा पैसा जम्मा गर्न लगाएको बताएका छन्। जयप्रकाशले अवस्थीबाट रुपैयाँ असुल गरेपछि भैँसीसहित वनकट्टा पुगेको र भैँसी लिन भन्सारमा बोलाएका हुन्छन्। अवस्थी गौरीफन्टा भन्सार पुगेर जयप्रकाशलाई फोन गर्दा भने सम्पर्क नै भएन।

फागुन २६ गते अन्तिम पटक पैसा जम्मा गरेर भन्सारमा भैँसी बुझ्न गएका अवस्थीले न त भैँसी बुझ्न पाए न त्यसपछि जयप्रकाशसँग कुराकानी नै गर्न पाएका छन्। जयप्रकाशले उपलब्ध गराएको ह्वाट्सप नम्बर अहिले बन्द गरिएको अवस्थीले बताएका छन्।

‘जयप्रकाश जाटले खोलेको फेसबुक पेजमा सुरुमा सम्पर्क नम्बर ९५४२५६६७०३ रहेकोमा अहिले उक्त नम्बर परिवर्तन गरेर मोबाइल नम्बर ७६८४८३०४३२ राखेका छन्। नेपाली किसानलाई ठग्ने नियतले फेसबुक पेजको नाम नेपालीमा लेखेका छन् भने दैनिक १६ लिटर दुध दिने भन्दै भैँसीहरूको फोटो राखेका छन्,’ अवस्थीले भने।

जयप्रकाशले अवस्थीलाई जस्तै अन्य सोझा किसानहरूलाई समेत ठग्ने जोखिम रहेको अत्तरियाका हरि भट्टराईले बताएका छन्। भट्टराईले नेपाली किसानलाई झुक्याउन भारतीय ठेगाना भएको कुनै पनि सामाजिक सञ्जालको पेजमा विश्वास नगर्न आग्रह गरेका छन्।

जयप्रकाश जाटले अवस्थीलाई विश्वासमा पार्न आफ्नो आधार कार्ड, भोटर कार्ड र भारती जीवजन्तु कल्याण बोर्डको प्रमाणपत्र देखाएका छन्। जाटले आफू सरकारी अधिकारी भएको र नेपालमा गाई भैँसी सप्लाइ गर्ने इजाजत पाएको बताएर ठगी गरेको अवस्थीले बताएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस