सुदूर नेपाललाई विश्वसँग जोड्दै

हो, हामी हिन्दु हौँ 

२०८० फाल्गुन २७, ०६:२४

डाक्टर गोविन्दशरण उपाध्यायः हामीले कसैलाई सफाई दिन्न र दिनु पनि छैन। नेपालको इतिहास र पहिचान यहाँका मौलिक धर्म, संस्कृति, परम्परा, ज्ञान-विज्ञान तथा प्राकृतिक भूगोल नै हुन्। यो विविधता समाजवाद वा साम्यवादले अथवा लोकतन्त्रले निर्माण गरेको होइन। विविधतालाई विरोधाभास ठान्ने र तह लगाउने संस्कृति नेपालीको होइन। तेसैले हिन्दु  संस्कृतिउपर बढ्दो अत्याचार, घृणावाद तथा सीमान्तकृत व्यबहारका विरुद्ध म रोकिने छैन।

सत्यले पोल्छ। यसको अर्थ सत्यलाई खोलामा बगाएर सेलाउन मिल्दैन। इसाई वा मुस्लिम समुदायको विरोध गरेर, तिनको उछितो काडेर धर्मपरिवर्तन रोकिन्न। धर्मनिरपेक्षताको आड लिएर धर्मपरिवर्तनलाई राज्य र राज्यका सञ्चालक राजनैतिक पार्टीहरूले नै उक्साएका छन्, सघाएका छन् र सुरक्षा दिएका छन्। जब यस्तो षड्यन्त्र विरुद्ध एउटा सचेत मौलिकताका पक्षधरले आवाज उठाउँछ, यी सबै मिलेर सम्बन्धित व्यक्ति वा समुदायलाई चरम तिरस्कार गर्छन्। राजनीति र राज्यले संरक्षण गर्नु पर्ने विश्वको सबै भन्दा प्राचीन जीवन्त संस्कृतिको विनासका लागि राज्यतन्त्रनै धर्मनिरपेक्षताको छाता मुनि लुकेर धर्मपरिवर्तन गराउने शक्तिसँग चोचोमोचो गरेपछि आफ्नो पहिचानको रक्षामा कलम चलाउनै पर्छ।

कुनै पनि हिन्दु, बौद्ध वा किरात मुस्लिम वा इसाईका विरुद्ध छैनन्। यदि विरुद्ध हुन्थे भने नेपालमा यिनको सम्मानजनक उपस्थिति हुने नै थिएन। अर्को कुरा, सहज र सरल रूपमा आफ्नो संस्कृतिको अभ्यास गर्ने मुस्लिम वा इसाईले धर्मपरिवर्तन गराउन खेतखलिहान चाहर्दैन। हिन्दूसँग घृणा गर्ने राजनैतिक दलहरूको संरक्षण प्राप्त नहुने हो भने धर्मपरिवर्तनकारी परजीविहरू 'खेतखलिहान'मा पुग्न सम्भव छ ? संविधानको ठाडो उलंघन गर्नेलाई राज्यले पुरस्कृत गरिरहेको छ भने संविधानको रक्षाका लागि आवाज उठाउने हिन्दूहरूलाई राज्यले हेपेको छ।

संस्कृति, धर्म र इतिहासका सवालमा म उनीहरूभन्दा बढी "निर्लज्ज" छु | मैले आफ्नो पहिचानको रक्षा र निरन्तरताका लागि लोकतन्त्र, समाजवाद, साम्यवादजस्ता सबै प्रतिमानहरूसंग सङ्घर्ष गर्न सक्छु | यदि यिनै प्रतिमानहरुले मेरो एकमात्र पहिचान 'सनातन-संस्कृति' रक्षा गर्ने व्यवस्था गर्छन् भने यी प्रति मेरो कुनै गुनासो हुने छैन। लोकतन्त्रका नाममा 'वैदिक संस्कृतिको उछितो काट्नेसंग' सम्झौताको कुनै सम्भावना छैन। नेपाललीले विगत ३५०० वर्षदेखि सहअस्तित्व र समावेशीपनको अभ्यास गरिरहेका छन्। विश्वका अनेकौं संस्कृतिहरू 'निमिट्यान्न पारेको रगत' बोकेकाहरूले नेपालीहरूलाई सहअस्तित्व र समावेशीपन सिकाउँनु विश्वको सबैभन्दा भद्दा 'कमेडी' हो।

तिमीले मलाई मार्न सक्छौं तर मेरो विश्वास, विचार र इतिहासलाई मार्न सक्दैनौं। तिमीले बोकेर हिंडेको विश्वाससंग नेपालको 'गोरु बेचेको नाता' सम्म छैन। यदि नाता पर्थ्यो भने २००७ देखि २०८० सालसम्म नेपालले विकासको फड्को मार्थ्यो। अमेरिकीहरू सगरमामा जागिर खोज्न आउँथे। क्यानाडाले क्रयोजनिक इन्जनको टेक्नोलोजी किन्थ्यो। हरेक नेपालीसंग विश्वको सबै महङ्गो कार, आइफोन र विश्वविद्यालय हुन्थ्यो। अव बकम्फुसे "विकास, अग्रगमन, वैज्ञानिकता, समाजवाद तथा समानता"का गफ सुन्न कसैलाई इच्छा छैन। न तिमीले लोकतन्त्र दिन सक्यौं बरू भएको आफ्नो संस्कृति र मौलिक पहिचानसमेत खरानी पार्ने आत्मघाती दस्ताहरूको नेतृत्व गरिरहेका छौँ।

यो देशमा कट्टरता फैलाउनेहरू अरू छन्, म र मजस्ता व्यक्तिहरूले कट्टरताको कल्पना पनि गर्न सक्दैनन्। मन्दिरहरूको शहर (काठमान्डौ) उपत्यकामा वसेर, यहाँको प्राकृतिक सुविधाहरू उपयोग गरेर यहींका देवीदेवताहरूलाई 'शैतान' भन्दै मोहम्मद इलियासको बाटोमा म हिंडेको छैन। कसैलाई हिड्न प्रेरित गरेको छैन। मैले आफ्नो कट्टरता लुकाउन 'धर्मनिरपेक्षता' को राजनैतिक छाता ओढ्न कसैलाई प्रेरित गरेको छैन। मैले त एत्तिमात्र भानिरहेको छु कि नेपाल वैदिक सनातन धर्मको उद्गमस्थल हो, हामी नेपालीहरू यसका उत्तराधिकारी हौँ र एउटा उत्तराधिकारीको रूपमा स्रोतको रक्षा गर्नु, यसको निरन्तरता सुनिश्चित गर्नु र यसका असल पक्षहरूलाई विश्वव्यापी बनाएर नेपाललाई विश्वको केन्द्र बनाउनु हाम्रो दायित्व हो। मेरो यो बुझाई र आह्वानले कसैको छाति चिरिन्छ भने त्यो चिरिनुपर्छ। आफ्नो मौलिकताको पक्षमा बोल्नु, लेख्नु र त्यसको रक्षाका लागि प्रयास गर्नु यदि कट्टरता हो भने हरेक नेपालीका लागि गौरवको कुरा हो।

आजको नेपाल पृथ्वीनारयणको कानुनले वा २००७ अथवा २०४७ को न्यायिक व्यबस्थाले चल्दैन। विश्व धेरै अगाडी बढिसकेको छ। परिवर्तनमा स्थिरता खोज्नु मान्छेको स्वभाव हो। नेपालका हकमा भने गतार्थ भैसकेका विदेशी राजनीति र धर्मनिरपेक्षताको खोल ओढाएर सन् १९१७ को समय लादिन खोजिदै छ। राजनीति होस् वा धर्म 'तेतै' को थोपरिंदै छ - यी हरफ पढ्दा सन् १९१७ तिरका विकासे जडवादीहरूको कन्सरीको रौँ तात्ने छन् तर नेपालीको समसामयिक विकास नहुनुमा सन् १७८९ र सन् १९१७ बोकेर हिँड्नु हो। बास्तविक तत्थ्य के हो भने यी दूवै तारिखहरूसँग नेपाली समाजको कुनै नातो छैन तर यी तारिखका नाठाहरू भने छन्।

जवसम्म यहाँका राजनैतिक नेतृत्वले नेपालको मौलिक संस्कृतिमा आधारित मौलिकतासंग आधुनिकताको (जापानझैं) समन्वय गर्दैनन् तवसम्म नेपालको विकास हुँदैन। नेपाली जनता विकास चाहन्छन् तर आफ्नो मौलिकता छोड्ने वा त्याग्ने शर्त स्वीकार्य हुँदैन। साथै, देशको ८२ प्रतिशत हिन्दू जनसंख्याको मान मर्दन गरेर, यिनको पहिचान मेटाएर, विदेशी शरणार्थीको काल्पनिक इतिहास पढाएर कुनै पनि राजनैतिक शक्तिले सफलता प्राप्त गर्न सक्दैन। जुन बखत पश्चिमी देशका प्रधानमन्त्रिले झैं खुलारूपमा अन्य समुदायको अपमान वा अवमानना नगरी शपथग्रहण ग्रहण गरेर श्रीपशुपतिनाथमा आशिर्वाद लिन जाने छन्, त्यो मिति देखि नेपालको राजनीतिमा स्थिरता र विश्वले विश्वास गर्ने छ। देशका ८२ प्रतिशत जनताको मान मर्दन गरेर स्थायित्व खोज्नु बालुवा पेलेर तेल निकाल्ने प्रयत्न गर्नुसरह हो।

देशका हरेक नागरिक समान हुन्। कसैले कसैको अपमान गर्ने छूट छैन |सबैलाई आफ्नो धर्मसंस्कृतिको रक्षा गर्ने स्वतन्त्रता प्राप्त छ। यस्तो व्यबस्थामा हिन्दूहरूलाई पनि प्राकृतिक रूपमा आत्मसुरक्षा गर्ने अधिकार छ। मैले मेरो प्राण रहेसम्म हिन्दूहरूको आत्मरक्षा र सम्मानका लागि आवाज उठाईरहने छु। यो आवाज देशका गैरहिन्दू समुदायका विरुद्ध कत्ति पनि होइन। यो आवाज देशको मौलिक सभ्यता अर्थात् सनातन वैदिक हिन्दू संस्कृतिको निरन्तरताका लागि हो। आत्मरक्षा र आफ्नो ऐतिहासिक पहिचानको रक्षाका  लागि हो। म तिम्रा धम्कीबाट डराएको छैन। तिमीले मेरो प्राण लिन सक्छौं तर मेरो विश्वास र सनातन धर्मको आदिथलोका रूपमा नेपालको पहिचान मेटाउन सक्ने छैनौं।

अन्त्यमा भन्न चाहन्छु, हामी सनातनी कसैलाई घृणा नगरौं, सबैलाई प्रेम गरौँ तर हाम्रो धर्म, संस्कृति, ज्ञान-विज्ञान मेटाएर हाम्रो मौलिक चिनारी (परिचय) मेटाउनेहरूसंग न झुकौं। हामी अमृत कर्मतिर अग्रसर हुनैपर्छ। देवदेवी संस्कृतिको मूलथलो नेपाल र नेपालआमाका उत्तराधिकारी हामी नेपालीलाई हार्ने, कायर बनेर विदेशीको दासता स्वीकार गर्ने र नेपाल र नेपालीको मौलिक पहिचान नष्ट गर्ने शक्तिसंग सम्झौता गर्ने अवकाश छैन। साथ हिडौँ, सँगै भोजन गरौँ, मिलेर स्वसंस्कृति अर्थात् ऋषिसंस्कृतिको रक्षाका लागि पराक्रम गरौँ। यस विषयमा मन्त्रणा गरौँ। मनको सम्मान गरौँ। स्वधर्म, स्वसंस्कृति तथा सामुहिक उन्नतिका लागि सधैं हाम्रो मन मिलोस्। हामी सबै मिलेर गौरवका साथ उद्घोष गरौँ "हाम्रो देश सनातन संस्कृतिको उद्गमस्थल हो। हामी ऋषि संस्कृतिका उत्तराधिकारी हौँ। हामी सबैलाई आफ्नो ठान्ने हिन्दू हौँ । हो, गौरवशाली हिन्दू हौँ।
अस्तु

कमेन्ट लोड गर्नुस