सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढी क्षेत्रको सडकमा सवारी पार्किङमा मनपरी

२०८० फाल्गुन २४, ११:४२ कमल सावद

धनगढी : सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय, धनगढीमा छ। धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको कार्यालयको उत्तर र दक्षिण क्षेत्रमा खुला ठाउँ छ। कार्यालय परिसरको पश्चिम तिरसमेत खुला ठाउँ छ।

तर, यातायात कार्यालय, धनगढीको पूर्वतिर रहेको सडकमा सवारी पार्किङ गर्ने गरिएको छ। यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र धनगढी उपमहानगरपालिकाको बेवास्ताका कारण सडकमा पार्किङ हुने गरेको हो। यातायात व्यवस्था कार्यालय, धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहले स्थानीय तह, ट्राफिक र यातायात व्यवस्था तीन वटै कार्यालयको पार्किङको जिम्मेवारी रहेको बताए। उनले भने, ‘कार्यालयमा पार्किङ छ। तर, सडकमा गाडी राख्ने गरिएको छ।’

यातायात व्यवस्था कार्यालय, धनगढीको पूर्वी क्षेत्रको सडकमा कर्मचारी, सेवाग्राही तथा यातायात क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीहरूले सवारी पार्किङ गर्ने गरेका हुन्। उनीहरूले तारानगर क्षेत्रको उक्त सडकको दुबैतिर सवारी पार्किङ गर्दै आएका छन्। सडकमा गरिने सवारी पार्किङका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको छ। तारानगर हुँदै चटकपुर तथा ढुङ्गेबजार हुँदै सञ्चालन हुने यातायातका साधनलाई समस्या हुने गरेको छ। यातायात व्यवस्था कार्यालय, धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहले कार्यालयको पार्किङ प्रयोग गर्न नसकिएको बताए। उनले भने, ‘सुरुमा बाहिरका पसलहरूमा काम हुन्छ। उहाँहरूले त्यही पार्किङ हुने गरिएको छ। यातायात कार्यालय भित्रको पार्किङ प्रयोगमा आएको छैन। सडकमा हुने पार्किङ खाली गर्न सकेका छैनौ।’

सडकमा यातायातको कार्यालय क्षेत्रभन्दा व्यवसायीका खोका–छाप्रा रहेका क्षेत्रमा बढी सवारी पार्किङ हुने गरेको छ। कार्यालयभित्र सवारी पार्किङको व्यवस्था भए पनि सेवाग्राही, कर्मचारी र व्यवसायीहरूले सडकमा पार्किङ गर्ने गरेका हुन्। साथै सडकमा पार्किङ हुने गरेको यातायात क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थित समेत देखिने गरेको छैन्। जसका कारण सडक नै जाम हुने गरी सवारी पार्किङ गर्ने काम हुँदै आएको हो।

यातायात व्यवस्था कार्यालय, धनगढीबाट दैनिक नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स), लाइसेन्स नविकरण, सवारी दर्ता तथा नविकरणको काम हुँदै आएको छ। सयौको सङ्ख्यामा मनलाग्दी रूपमा सवारी पार्किङ गरिँदा सडकमा सवारी सञ्चालन गर्नेहरूलाई समस्या हुँदै आएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस