सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५ आरोही सगरमाथा चुचुरोमा पुगे

। फोटो स्रोत ।
२०७६ जेठ ३, ११:५७ खबर संवाददाता

वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन्। मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि सुरु भएको हो। मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए। पर्यटन विभागका निर्देशक मीरा आचार्यले दिएको जानकारी अनुसार बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेका छन्। यस्तै पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन्।

उनले पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएको बताए। तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् भने लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएको जानकारी दिए। बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। बिहीबार बिहान आधार शिविरमा रहनुभएका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गरेको थियो। 

अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ। हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ। साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन्। सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो। विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस