सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडलाई संरचना नभत्काउन स्टे अडर

२०८० फाल्गुन २२, १२:०९

धनगढीः कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खालि नगराउन जिल्ला अदालत कैलालीले स्टे अडर जारी गरेको छ। अदालतले अन्तिम फैसला नभएसम्म कुनैपनि संरचना नहटाउन स्टे अडर जारी गरेको हो।

विद्यालयले आफ्नो नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ मा रहेको ८ कट्‍ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो। अदालतले सोमवार विद्यालयका नाममा स्टे अडर जारी गरेको छ। जिल्ला अदालत, कैलालीका श्रेस्तेदार मानबहादुर विष्टले स्टे अडर जारी भएको बताए। उनले भने, ‘यो अन्तिम फैसला होइन। अदातमा मुद्‍दा रहेकाले तत्कालका लागि केही नगर्न भनिएको हो।’

विद्यालयले मङ्गलवारदेखि अतिक्रमण गरिएका संरचनामा डोजर चलाउने तयारी गरेको थियो। विद्यालयले सोमवार आवश्यक सुरक्षाका लागि पत्र समेत पठाएको थियो। तर, अदालतले स्टे अडर जारी गरेकाले विद्यालयको जग्गामा रहेका संरचना भत्काउने काम रोकिएको छ।

 

कमेन्ट लोड गर्नुस