मोरङमा १५ वर्षीया बालिकाको हत्या
काठमाडौं: मोरङमा एक बालिकाको हत्या भएको छ। पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलीमा १५ वर्षकी बालिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या कसले र किन ग¥यो भन्ने खुलेको छैन।
खोटाङ घर भएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार राति १० बजेतिर शौच गर्न बाहिर निस्किएका बेला उनको हत्या भएको खुलेको छ।
घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहितको टोली घटनास्थल पुगेको छ। तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको टोली अनुसन्धान थालेको प्रहरीले जनाएको छ। राई मामाको घरमा बसेर पढ्ने गरेकी थिइन्। उनी कक्षा सातमा अध्ययरत थिइन्।