सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका १० खाद्य उद्योग र विक्री केन्द्र विरुद्ध मुद्दा दायर

२०८० फाल्गुन २०, ०६:४१ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरका १० वटा खाद्य उद्योग र विक्री केन्द्र विरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा १० वटा खाद्य उद्योग र विक्री केन्द्र विरुद्ध मुद्दा दायर गरेको हो। ८ महिनाको अवधिमा कार्यालयबाट भएको अनुगमनका क्रममा झण्डै पाँच सय उद्योग र पसलको अनुगमन गरिएको छ। अनुगमनबाट प्राप्त नमुनाको विश्लेषण गर्दा ८ प्रतिशमा कैफियत फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भनगढीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट चालु आर्थिक वर्षको फागुन २० गतेसम्म ४ सय ७७ वटा उद्योग र पसलमा अनुगमन गरिएको हो। कैलाली र कञ्चनपुर जिल्लासहित पहाडी जिल्लामा समेत वर्षभरि बजार अनुगमन, नमुना संकलन र परीक्षण हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित्त प्रमुख हरिसिंह बोहराले बताए। ‘आठ महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा एक हजार १५३ नमुनाको प्रयोगशालामा विश्लेषण गरिएको छ।

हामीले दसैं–तिहारमा मात्रै होइन वर्षभरि नै बजार अनुगमनको काम गर्छौं,’ बोहराले भने। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालामा खाद्यान्नको ५९५, दूध तथा दुग्धजन्य पदार्थको ४३, तेल तथा घ्युको ३५, फलफूल तथा सागपातको ८५, मसलाको १३८, चिया/कफी १५, नुनको २५, प्रशोधित पानीको ६७, गुलियो पदार्थ २८, कन्फेक्सनरी १४, विविध १७०, दाना २५ र मासुजन्य ३ नमुनासहित एक हजार १५३ नमुनाको परीक्षण भएको छ।

परीक्षण गर्दा ८ प्रतिशत अर्थात् ९५ नमुनाको प्रतिकूल नतिजा आएको छ बोहराले बताए। ‘प्रयोगशाला विश्लेषण सेवा अन्तर्गत अनुज्ञापत्रका लागि प्राप्त ८१० नमुनामध्ये ६६ मा प्रतिकूल नतिजा आएको छ। यो वर्ष ऐन बमोजिम खाद्य पदार्थको परीक्षण गर्दा ९७ मध्ये पाँचवटा नमुनामा कैफियत फेला परेको छ’, उनले भने, ‘परीक्षणका लागि कार्यालयमा अनुरोध गरिएका ६३ नमुनामध्ये ४ तथा १८३ वटा अनुसन्धानात्मक नमुनामध्ये २० नमुनामा कैफियत फेला परेको छ।’

बजार अनुगमनको क्रममा संकलित नमुना परीक्षण गर्दा प्रतिकूल नतिजा आएका विभिन्न १० वटा खाद्य उत्पादक र बिक्री गर्ने फर्म विरुद्ध मुद्दा दायर गरिएको छ। थप ५ वटा पसल र व्यापारिक फर्म विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले अनुसन्धान गरेर केहीमा मुद्दा दायर गरेको छ भने केहीमा सरकारी वकिल कार्यालयको राय माग्ने काम भएको निमित्त प्रमुख बोहराले बताए।

कैलाली जिल्ला अदालतमा २ वटा, कञ्चनपुर जिल्ला अदालतमा एकवटा मुद्दा दर्ता गरेको छ। यस्तै, जिल्ला प्रशासन कार्यालय कैलालीमा २ र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ५ वटा व्यापारिक फर्म विरुद्ध मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ। साथै सो अवधिसम्म ११२ वटा पसल र व्यापारिक फर्मबाट २४ क्वीन्टल ६ किलोग्राम अखाद्य र म्याद गुज्रिएको खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ। यसका साथै ८ लाख ५१ हजार ९४१ मूल्य बराबरको अखाद्य वस्नु समेत नष्ट गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस