सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मीमाथि कुटपिट गर्ने धनगढीका व्यापारी थापा विरुद्ध अदालतमा पनि मुद्दा दर्ता

२०७६ जेठ २, ०६:२० खबर संवाददाता

दिनेश खबरकर्मी जनक विष्टमाथि कुटपिट गर्ने धनगढीका व्यापारी तेजेन्द्र थापा विरुद्ध अदालतमा पनि मुद्दा दर्ता गरिएको छ। दिनेश एफएम र खबरका सहायक सम्पादक समेत रहेका विष्टलाई कुटपिट गर्ने व्यापारी थापा विरुद्ध आज जिल्ला अदालत कैलालीमा छुट्टाछुट्टै दुईवटा मुद्दा दर्ता गरिएको हो। दिनेश खबरकर्मी विष्टले थापा विरुद्ध कुटपिट र गाली वेइज्जती मुद्दा दर्ता गराएका हुन्।

थापा विरुद्ध मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को दफा ३०५ को १ र २ तथा दफा ३०६ को १ र २ बमोजिमको कसुर गरेको भन्दै गाली वेइज्जती र मुलुकी फौजदारी संहिता ऐन २०७४ को परिच्छेद १४ को दफा १९१ मा उल्लेखित कुटपिट गर्न नहुने कसुर अन्तरगत कुटपिटको मुद्दा दर्ता गरिएको हो। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३०५ को उपदफा १ र २ मा कसैलाई गाली गर्नु नहुने तथा कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली वेईज्जती गरेको मानिने उल्लेख गरिएको छ।

उक्त कसुर गरेमा दफा ३०५ को उपदफा ३ बमोजिम एक वर्ष सम्म कैद वा दश हजार रुपैया सम्म जरिवाना हुने मुलुकी अपराध संहिता ऐनले बोलेको छ भने सोही ऐनको दफा ३०७ बमोजिम वेइज्जती गरेमा थप २ वर्ष सम्म कैद वा २० हजार रुपैया जरिवाना हुनेछ। यस्तै मुलुकी फौज्दारी संहिता २०७४ को परिच्छेद १४ को दफा १९१ मा कसैले कसैमाथि कुटपिट गर्न नहुने कुरा उल्लेख गरिएको छ।

उक्त दफा विपरीत कसुर गर्ने व्यक्तिलाई  १९१ कै उपदफा ३ बमोजिम तीन वर्ष सम्म कैद वा ३० जहार रुपैया सम्म जरिवाना हुने उल्लेख गरिएको छ। गत चैत २२ गते धनगढीको त्रिनगर माध्यमिक विद्यालयको व्यापारिक भवनको सटर भाडाको विषयमा रिर्पोटिङ गर्न गएका बेला प्रधानाध्यापकको कार्यकक्षमा प्रवेश गरी विष्टलाई गाली गलौज गर्दै कुटपिट गरेका थिए।

विद्यालयकै सटर भाडामा लिएर व्यापार गर्दै आएका थापाले प्रधानाध्यापकको कार्यकक्षमै प्रवेश गरी गालीगलौज गर्दै आक्रमण गरी विष्टलाई कुटपिट गरेका थिए। यसअघि सार्वजनिक स्थानमा कसैमाथि दुव्र्यवहार गर्न नहुने कसुर अन्तरगत जिल्ला प्रहरी कार्यालय कैलालीमा समेत थापा विरुद्ध किटानी जाहेरी दर्ता गरिएको थियो। सोही जाहेरीका आधारमा पक्राउ परेका थापा एक हप्ता प्रहरीको हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयमा ३ हजार धरौटी बुझाएर तारेखमा रिहा भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस