सेती अस्पतालमा जुगाडले पानीको आपूर्ति, गर्मीमा हाहाकार हुने

धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जुगाड गरेर पानीको आपूर्ति हुँदै आएको छ।
प्रदेश सरकार मातहतको प्रादेशिक अस्पतालमा जुगाड गरेर पानीको आपूर्ति गरिएको छ। अस्पतालमा पानी आपूर्तिका लागि गाडिएको बोरिङमा पानी सुकेपछि समस्या भएको छ। अस्पतालमा पानी आपूर्तिका लागि सानो बोरिङ छ। गर्मीको समय सुरु भएकाले अस्पतालमा पानीको हाहाकार हुने देखिएको छ। पानीको हाहाकार भएपछि बिरामी, कुरुवा र त्यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समस्या हुने देखिएको छ।
२०६८ सालमा ६५ लाखमा निर्माण गरिएको खानेपानी आयोजनामा अहिले पानी छैन। ठूला आयोजनाको पानीको मुहान सुकेपछि समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाही (निर्मल)ले बताए। उनले भने, ‘पानीको बोरिङ थियो। पुरानो बोरिङको पानी सुकेको छ। २ इन्चको मात्र सानो पानी छ। खानेपानीका लागि नयाँ योजनाको बोलपत्र हुने भएको छ, प्रक्रियामा रहेको छ।’
सेती प्रादेशिक अस्पतालमा खानेपानी तथा शौचालयका लागि समेत पानीको समस्या हुने देखिएको छ। गर्मीको समयमा पानीको मुहान बन्द हुने भएकाले अस्पताल व्यवस्थापन समिति पानीको सहज आपूर्तिका लागि आयोजनाको ठेक्काको प्रक्रिया सुरु गरिएको छ। नेपाल खानेपानी संस्थान धनगढी शाखाको पानी सडक निर्माणका कारण आपूर्तिमा समस्या हुने गरेको छ।
सेती अञ्चल अस्पतालले २०६८ सालमा अस्पताल परिसरभित्रै ट्युबेल गाडेर समरसेल पम्प जडान गरी एक लाख लिटरको ओभरहेड ट्याङ्की निर्माण गरिएको थियो। तर, त्यो सफल भएन। ट्युबेल सुकेपछि अस्पतालमा खानेपानीले दिएको पानी पनि अस्पताललाई अपुग हुने गरेको छ।
२ सय ५० शय्यामा सञ्चालनमा रहेको अस्पतालमा पानी अभाव हुने गरेको छ। सुदूरपश्चिम प्रदेशका झन्डै २८ लाख जनताको स्वास्थ्य सेती अस्पताल जोडिएको छ। सेतीमा दैनिक एक हजार पाँच सय बिरामीले उपचार सेवा लिने गरेका छन्। तर, खानेपानी र सरसफाइका लागि अस्पतालमा पानीको अभाव हुने गरेको छ।
