यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले भोग्नुपरेको समस्या बारे अन्तरक्रिया सम्पन्न
धनगढीः धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले भोग्नुपरेको समस्या र समाधानका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ।
बिहीवार निलहिरा समाजको आयोजनामा यौनिक तथा लैङ्गकि अल्पसंख्यकहरूले बारम्बार भोग्नुपरेको समस्याका बारेमा सरोकारवालालाई जानकारी गराउन अन्तरक्रिया सम्पन्न भएको हो। निलहिरा समाज काठमाडौं र सुदूरपश्चिम समाजको आयोजनामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरू, सदस्यहरू र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको सहभागिता रहेको थियो।
कार्यक्रममा निलहिरा समाज काठमाडौंकी भूमिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले भोग्नुपरेका समस्याबारे प्रकाश पारेकी थिइन्। उनले यौनिक अल्पसंख्यकहरूले शारीरिक, मानसिक र आर्थिक हिंसा भोग्नुपरेको बताएकी छिन्। श्रेष्ठले यौनिक अल्पसंख्यकहरूले अहिले पनि पहिचानको आधारमा नागरिकता प्राप्त गर्न समस्या रहेको बताएकी छिन्। उनले व्यक्तिको पहिचानसँग जोडिएको नाम र नागरिकता प्राप्तिमा सरोकारवाला सबैले सहज व्यवहार गर्नुपर्ने आग्रह गरेकी छिन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले नागरिकता नियमावली, २०६२ को पछिल्लो संशोधन पश्चात् महिला, पुरुष र अन्य भनेर नागरिकता दिन सकिने बताए। उनले जन्मदर्तामा पुरुष र महिला भनेर उल्लेख भएको हकमा के गर्ने भन्ने विषयमा कानुनी प्रष्टता नभएको बताए। जोशीले नामको हकमा अपाच्य र अस्वाभाविक नाम राखिएको छ भने परिवर्तन गर्न सकिने बताए।कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको समस्या समाधान गर्न सकारात्मक पहल गर्ने सहभागीहरूले बताएका छन्।