सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको अनुगमन, धावनमार्ग विस्तारको कार्य समयमै सक्न निर्देशन

२०७६ जेठ २, ११:२२ खबर संवाददाता

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यको सरोकारवालाहरुले अनुगमन निरिक्षण गरेका छन्। धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत, वडा नम्वर १३ का अध्यक्ष विजय जोशी लगायतले विमानस्थलको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा श्री एयरलाईन्स धनगढीका स्टेशन प्रमुख गजेन्द्र शाही, बुद्ध एयरलाईन्सका धनगढी प्रमुख बुधराम चौधरी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको पनि सहभागिता रहेको थियो।

सो क्रममा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यका विषयमा जानकारी लिईएको छ। विमानस्थल मर्मतका क्रममा कुनै पनि अवरोध हुन नदिनका लागि आफुहरु तयार रहेको धनगढीका मेयर वडले दावी गरे। खुटिया–धनगढी खण्ड भएर निर्माण सामाग्री ओसार्न दिनका लागि पनि मेयर वडले स्थानीयले आग्रह गरेका छन्। अहिले पुर्वपश्चिम राजमार्ग हुँदै अत्तरिया–मोहनापुल ६ लेन सडक भएर निर्माण सामाग्री ल्याउनुपर्दा समस्या भईरहेको निर्माण कम्पनीले जनाएको छ। धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले समस्या भईरहेको हो। धनगढी विमानस्थल र निर्माण कम्पनीले भने धनगढी– खुटीया खण्ड भएर निर्माण सामाग्री ल्याउन दिए निकै सहज हुने बताउँदै आएका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले निर्माणका क्रममा कुनै अवरोध भए स्थानीय प्रशासन सहजीकरण गर्न तयार रहेको बताए। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले एक महिना भित्रै विमानस्थल सञ्चालन हुने गरि मर्मतको कार्य भईरहेको बताए। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य जारी रहेकाले विमानस्थल २२ गतेदेखि नै बन्द छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य बैशाख २२ गतेदेखि नै सुरु भएको थियो। त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीले पाएकोमा निर्माण कम्पनीले पनि १८ महिने सम्झौता भएपनि विमानस्थल एक महिना भित्रै सञ्चालन हुने गरि निर्माण गरिरहेको जनाएको छ। 

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। 
 

कमेन्ट लोड गर्नुस