सुदूर नेपाललाई विश्वसँग जोड्दै

जथाभावी फोहर फाल्ने तीन सय व्यक्ति र संस्थाबाट तीन लाख जरिबाना असुल

धनगढीमा फोहर व्यवस्थापन गर्न तीन सयको संख्यामा समिति गठन

२०८० फाल्गुन १६, ०६:२७ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा फोहरमैला व्यवस्थापन गर्न तीन सयको संख्यामा सरसफाई समिति गठन गरिएको छ।

साथै उपमहानगरपालिकाले सात महिनाको अवधिमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संघसंस्थाबाट तीन लाखभन्दा बढी जरिबाना असुल गरेको छ। उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि फागुन १० गतेसम्म जथाभावी फोहर फाल्ने तीन सयभन्दा बढी व्यक्तिलाई जरिबाना गरेको हो। हाल ९ वटा वडाबाट नियमित फोहरमैला उठाउने काम भइरहेको छ।

वडा नम्बर १ देखि ८ र १३ नम्बर वडाका घरबाट उपमहानगरले फोहर उठाउने गरेको छ। साथै धनगढीलाई मुलुककै सफा सहर बनाउने उद्देश्यसहित १९ वटै वडामा सरसफाइ समिति गठन गरिएको वातावरण इन्जिनियर अशोक अवस्थीले बताए। धनगढी उपमहानगरपालिकाले  ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत सफा धनगढी बनाउने योजनालाई कार्यान्वयनमा ल्याएको छ।

उपमहानगरपालिकाले सफा धनगढी  योजना अन्तर्गत सात महिनामा जथाभावी फोहरमैला बिसर्जन गर्नेबाट तीन लाख १५ हजार १ सय ७० रुपैयाँ जरिबाना असुल गरेको छ। साथै तीन सयभन्दा बढी व्यक्तिले जथाभावी फोहर फालेको कसुरमा जरिबाना तिरेका छन्। धनगढीमा फोहर व्यवस्थापन गर्न जनस्तरबाट पनि सहयोग भएको छ। फोहर संकलन र व्यवस्थापनबाट नगर क्षेत्र सफा हुनुको साथै आम्दानी समेत बढेको छ।

६ महिनामा १३ लाख १५ हजारभन्दा बढीको फोहर संकलन भएर टेण्डरको माध्यमबाट बिक्री गर्ने सूचना निकालेको वातावरण इन्जिनियर अशोक अवस्थीले बताए। धनगढी उपमहानगरका ६ जना सरसफाइ सहजकर्ता र १५ जना सामाजिक परिचालकहरूले सरसफाइ कार्यक्रममा प्रत्यक्ष संलग्न भएर काम गर्दै आएका छन्।

सरसफाइ सहजकर्ताले सूक्ष्म वर्गीकरण केन्द्रको कामको रेखदेख गर्ने, नगरका ३ सयभन्दा बढी सरसफाइ समितिलाई परिचालन गर्ने, सामुदायिक र निजी विद्यालयमा सरसफाइ अभियान चलाउने, बिहान, दिउँसो र राति १० बजेसम्म अनुगमन गर्ने काम सरसफाइ सहजकर्ताले गर्दै आएका छन्। यस्तै १५ जना सामाजिक परिचालकले १९ वटै वडामा सरसफाइ अभिमुखीकरण अभियान चलाउने गरेको अवस्थीले बताए।

‘बजार तथा सार्वजनिक क्षेत्रमा फोहर विसर्जन गर्न सहज होस् भनेर ५९ स्थानमा १ सय १७ वटा डस्टबिन राखिएको छ। उपमहानगरले बसपार्क तथा बढी भिडभाड हुने थप १९ वटा स्थानमा १९ वटा बोतल मात्रै विसर्जन गर्ने डस्टबिन राखिएको छ,’ उनले भने,  ‘फोहरमैला व्यवस्थापन गर्न सहयोग पुगोस् भनेर धनगढीका सम्पूर्ण सामुदायिक र निजी विद्यालयमा शिक्षकको संयोजकत्वमा विद्यार्थीहरूको सरसफाइ समिति पनि गठन गरिएको छ।‘

धनगढीले फोहरमैला व्यवस्थापन गर्न अपनाएको अभ्यास अवलोकन गर्न एसियायी विकास बैंक तथा विभिन्न नगरपालिकाबाट अध्ययन टोली आउने गरेको इन्जिनियर अवस्थीले बताए।  ‘एसियाली विकास बैंकदेखि विभिन्न नगरपालिकाबाट धनगढीको फोहर व्यवस्थापन प्रणाली हेर्न आएका छन्,’ उनले भने, ‘धनगढीका विद्यालयहरूबाट पनि सूक्ष्म वर्गीकरण केन्द्रको अवलोकन गर्न विद्यार्थीहरू आउने गरेका छन्।‘ घरपरिवार, समुदाय, उद्योग कलकारखाना र सरकारी तथा सार्वजनिक कार्यालयबाट उत्पादन हुने फोहरमैलाको उचित व्यवस्थापन गर्न सबैले जिम्मेवार भए फोहरमैला व्यवस्थापनमा लागे आम्दानी समेत हुने उपमहानगरको तर्क छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस