सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल नामिबियासँग पराजित

फोटो : क्यान
फोटो : क्यान
२०८० फाल्गुन १५, ०७:४८ रासस

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। 

जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउनेक्रममा  नेपाल १८ दशमलव पाँच ओभरमा सबवै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो। सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जित निकाल्न भने सकेन। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए। उनले तीन चौका र तीन छक्का प्रहार गरे।
तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए। मल्लले ३२ रन बनाए । त्यस्तै गुलशन झाले १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समानले छ÷छ रन जोडे । सन्दीप जोराले  पाँच रन बनाए। 
नामिबियाका रुबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोलज, निकोल लोपफटी इटन र जान फ्रिलिङकले समान दुई/दुई विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो। 
नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए।  

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे। यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए। 

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे। 

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक÷एक विकेट लिए। जारी प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डबीच विहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ।
 

कमेन्ट लोड गर्नुस