विदेशमा रहेका व्यक्तिलाई आफन्तको अन्तिम संस्कारमा सहभागी हुन सहज
धनगढीमा शव चिस्यान यन्त्रको प्रभावकारिता
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका गणेशबहादुर धानुकको शुक्रवार देहान्त भयो।
मृतक धानुकका छोरा कृष्ण धानुक डेनमार्क भएकाले उनी नआउन्जेल अन्तिम संस्कार गर्न पर्खनुपर्ने भयो। डेनमार्कबाट शनिवार साँझ कृष्णबहादुर धानुक घर पुगेपछि आइतबार मृतक गणेशबहादुर धानुकको गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। शुक्रवारदेखि आइतवारसम्म मृत शरीरलाई सुरक्षित राख्न उपमहानगरपालिकाले घरमै शव चिस्यान यन्त्र पुगाउँदा निकै ठुलो सहयोग पुगेको पदमबहादुर धानुकले बताए।
उनले उपमहानगरले सामान्य लाग्ने तर निकै महत्वपूर्ण सेवा जनतालाई दिने काम गरेको बताए। ’बच्चाहरू विदेशमा थिए, उपमहानगरपालिकाको शव चिस्यान सेवाले निकै सहज भयो,’ उनले भने, ‘नगरपालिकाले सामान्य लाग्ने तर निकै महत्वपूर्ण काम गरेको छ, शव चिस्यान सेवा सुरू गरेर, अन्य पालिकाहरूले पनि यस्तो सेवा सुरू गर्नुपर्छ।’ धनगढी उपमहानगरपालिकाले गत मंसिरबाट शव चिस्यान सेवा प्रदान गर्न थालेको हो।
उपमहानगरपालिकाले दुईवटा शव चिस्यान यन्त्रबाट नगरबासीलाई निःशुल्क सेवा दिँदै आएको छ। फोन गरेको पाँच मिनेटमै नगर प्रहरीले घरमै चिस्यान यन्त्र पुगाएको मृतका आफन्त राजेश धनुषेले बताए। ’हामीले खबर गरेको पाँच मिनेटमै नगर प्रहरीले यन्त्र घरमा पुगायो। अस्पतालबाट मृत शरीरलाई घरमा ल्याइदियो,’ उनले भने, ‘नगरपालिकाको चुस्त र छिरितो सेवाबाट हामी निकै खुशी भएका छौँ।’
अहिले युवाहरू विदेशमा रहेकाले धनगढी उपमहानगरपालिकाले जस्तै शव चिस्यान सेवा अन्य पालिकाले समेत दिन सके सर्वसाधारणलाई सहयोग हुने प्रतिक्रिया धनगढीमा शव चिस्यान सेवा लिएकाहरूले दिएका छन्। धनगढीमा नगर प्रहरीले मृतकको घरबाट चिस्यान सेवाका लागि फोन आउने बित्तिकै चिस्यान यन्त्र घरमै पुगाउने व्यवस्था मिलाइएको छ। नगर प्रहरीले चिस्यान यन्त्र लगेर जडान गर्ने र अन्तिम संस्कारका लागि लैजानुपूर्व यन्त्रबाट शव निकालेर मसिन फिर्ता ल्याउने गरेको छ।
शव चिस्यान सेवा नगरबासीलाई निःशुल्क प्रदान भइरहेको नगर प्रहरी निरीक्षक भुपेन्द्र खड्काले बताए। धनगढीमा शव चिस्यान यन्त्रको व्यवस्था गरिएपछि विदेशमा रहेका व्यक्तिलाई आफन्तको अन्तिम संस्कारमा सहभागी हुन सहज भएको छ। यस्तो यन्त्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो। उपमहानगरले नगर प्रहरीमार्फत मृतकको घरमै शव चिस्यान यन्त्र पुगाउने व्यवस्था गरेको छ।
गत मंसिरबाट सुरू भयको शव चिस्यान सेवाबाट हालसम्म १७ परिवारले सहयोग प्राप्त गरेका छन्। दुईवटा शव चिस्यान यन्त्रबाट अहिलेसम्म १७ जना मृतक व्यक्तिको शव आफन्त तथा छोराछोरी नआउन्जेल सुरक्षित राख्ने काम भएको छ। घरभन्दा टाढा तथा विदेशमा रहेका छोराछोरी र आफन्त आउन्जेल शवलाई चिस्यान यन्त्रमा राख्ने सेवा उपमहानगरपालिकाले निःशुल्क प्रदान गर्दै आएको छ।