सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडको जग्गा कब्जा गर्नेहरु नै दर्ता खारिजीको माग गर्दै अदालतमा

२०८० फाल्गुन १३, ०६:५० कमल सावद

धनगढीः कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको कित्ता नम्बर ९७ को ८ कट्ठा जग्गा खाली गर्न ३५ दिनको सूचना सार्वजनिक भयो।

विद्यालयले ९३ करोडको लागतमा दुईवटा छात्रावास भवनहरु, एक चमेनागृह र एक फिजियोथेरापी भवन निर्माणका लागि जग्गा खाली गर्न सूचना जारी गरेको हो। विद्यालयले कित्ता नम्बर २५१ को जग्गसमेत खाली गर्न भनेको थियो। ३५ दिनका २ वटा सूचना सार्वजनिक भएपछि विद्यालयको जग्गामा बासोबास र व्यापार गर्दै आएकाहरु उल्टै अदालत पुगेका छन्।

विद्यालयले फागुन ३ गते ३५ दिनभित्र विद्यालयको जग्गा खाली गर्न भनेपछि बसोबास र व्यापार गर्दै आएकाहरु जिल्ला अदालत कैलाली पुगेका हुन्। राष्ट्रिय मावि सुखडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले आफूहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको बताए। उनले भने, ‘विद्यालयको नाममा पनि मुद्दा छ। व्यक्तिको नाममा पनि मुद्दा छ।’

विद्यालयको कित्ता नम्बर ९७ र २५१ दर्ता खारिजको मागसहित बासोबास र व्यापार गर्दै आएकाहरु अदालत पुगेका छन्। उनीहरुले जबरजस्ती विद्यालयले नाममा जग्गा दर्ता गरेको भन्दै मुद्दा दर्ता गरेका छन्। २०५५ सालको सुकुम्बासी आयोग, २०५५ सालको विद्यालय व्यवस्थापन समिति, वीरबहादुर हमाल, तत्कालिन गाविस अध्यक्ष दिपु मल्ल, वडाध्यक्ष बमबहादुर सुवेदी, विद्यालयका प्रधानध्यापक गणेश ढकाल, वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल र वर्तमान निमित्त प्रधानध्यापक रामप्रसाद गौतमका विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

राष्ट्रिय माध्यामिक विद्यालय, सुखडको २ बिघा जग्गा व्यपारीहरुले कब्जा गरेका छन्। ४० वर्षदेखि उनीहरुले भाडासमेत दिएका छैनन्। २०४० सालमा विद्यालयलाई मासिक भाडा तिर्ने गरेर जग्गा लिएका उनीहरुले भाडा दिन समेत आनाकानी गर्दै आएका थिए। अहिले उल्टै दर्ता खारिजीको मागसहित सामुहिक रुपमा अदालत गएपछि विद्यालयले जवाफ पेस गर्नुपर्ने भएको छ।

उनीहरुले विद्यालयलाई एक करोड ३७ लाख ९० हजार एक सय १८ रुपैयाँ विद्यालयलाई तिर्न बाँकी छ। हमालले भने, ‘जग्गा हाम्रो हो भनेर मुद्दा हाल्नु भएको हो। २१ दिनमा प्रति उत्तर पठाउन भनेको छ।’ विद्यालयलाई चाहिएको समय खाली गर्ने सम्झौता गरेका उनीहरुलाई हटाउन विद्यालयले पहल थाले पनि सकेको छैन। विद्यालयको दर्ता जग्गामा ठुल–ठुला भवनहरु निर्माणसँगै उनीहरुले खरिद–बिक्रीसमेत गर्दै आएको खुलेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस