सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिटरब्याजपीडितसँग छलफल गर्न वार्ता टोली गठन

२०८० फाल्गुन १३, ०४:५९ खबर संवाददाता

काठमाडौँः गृह मन्त्रालयले २५ दिनको पैदलयात्रापछि काठमाडौंमा पुगेका मिटरब्याजपीडितहरुलाई वार्ताका लागि आह्वान गरेको छ।

मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो। मन्त्रालयले मिटरब्याजपीडितहरुले गरिरहेको पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रमबारे जानकारी रहेको र ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि मन्त्रालयमा आउन भनेको हो।

’मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि यस मन्त्रालयमा विभिन्न मितिमा छलफल भएकै छन्। मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकार सम्पन्न आयोग गठन, आयोगको कार्यकाल समाप्त भई विघटन भएपश्चात उजुरी फछ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप समेत गराउने र सहमति नभएका विषयमा कानून बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारीले सो को अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्रालयले संघर्ष समितिलाई पत्राचार गर्दै भनेको छ।

पूर्वको झापा र कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं पुगरे शुक्रबारदेखि न्यायको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस