सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहरलाई तह लगाउन सरसफाइ अभियानमा धनगढीका विद्यार्थी धमाधम जोडिदै

२०८० फाल्गुन ११, ०६:४९ नारायण अवस्थी

धनगढीः सरसफाइ अभियानमा कैलालीको धनगढीका विद्यार्थी धमाधम जोडिन थालेका छन्।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत सरसफाइमा जुट्न विद्यार्थी जोडिने क्रम बढ्दै गएको हो। यस प्रकारको अभियानलाई सार्थक बनाउन नगर प्रमुख गोपाल हमाल आफैं विद्यालयमा पुग्न थालेपछि विद्यार्थीसँगै शिक्षकसमेत उत्साहित बन्न थालेको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। ‘नगर प्रमुख ज्यू स्वयं विद्यालयमा उपस्थित भएर सरसफाइमा लाग्न आग्रह गर्नुभएको छ।

विद्यार्थीहरूले स्वच्छ र सँगै धनगढी बनाउने संकल्प गरेका छन्’, उनले भने, ‘नगर प्रमुखको यो प्रयासले विद्यार्थी र शिक्षकहरूलाई समेत सरसफाइ  कायम गर्न उत्प्रेरित गर्ने विश्वास गरेको छु।’ धनगढीका सामुदायिक र निजी विद्यालयमा पुगेर नगर प्रमुख हमालले  सरसफाइमा लाग्न विद्यार्थीलाई आग्रह गर्ने अभियान नै चलाएका छन्।

शुक्रवार मात्र धनगढीको पञ्चोदय माध्यमिक विद्यालय र ग्यालेक्सी स्कुलमा पुगेर नगर प्रमुखले गरेको आग्रहलाई विद्यार्थी र शिक्षकले खुलेर साथ दिने प्रतिबद्धता जनाएका छन्। स्वच्छ धनगढी अभियानमा लाग्न आफूहरू प्रतिबद्ध रहेको ग्यालेक्सी स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र अनमोल देउवाले बताए। ‘हामी सबै विद्यार्थी मिलेर सफा धनगढी बनाउने छौँ। जतिबेलासम्म धनगढी सफा हुन्न त्यतिबेलासम्म हामी स्वच्छ धनगढी अभियानलाई निरन्तरता दिने छौँ’, देउवाले भने।

हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालय र ग्यालेक्सी स्कुलका विद्यार्थीहरूले सरसफाइ अभियानमा व्यक्तिगत र सामूहिक रुपले लाग्ने बताएका छन्। नगर प्रमुख हमालले स्वच्छ र सफा धनगढी बनाउन आ–आफ्नो तर्फबाट योगदान गर्न गरेको आग्रहलाई विद्यार्थीहरूले हार्दिककताका साथ आत्मसात गर्ने बताएका छन्।

सरसफाइ अभियानमा व्यक्तिगत र सामूहिक रुपमा लागेर धनगढीलाई स्वच्छ र सफा सहर बनाउन हरेक व्यक्तिले लाग्नुपर्ने ग्यालेक्सी स्कुलकी कक्षा ९ की छात्रा निधी बडूले बताइन्। ‘सरसफाइको अभियान घरबाट नै सुरू हुन्छ। धनगढीको जिम्मेवार जनताको हिसाबले सफा धनगढी अभियानलाई अगाडि बढाउन सक्दो प्रयास गर्नेछौँ’, उनले भनिन्, ‘घर, समुदाय र विद्यालयलाई सफा राख्न हामी सक्दो प्रयास गर्नेछौँ।’

फोहरमैला जथाभावी फाल्न नहुने कुरामा समुदायमा समेत सचेतना जगाउने प्रतिबद्धता विद्यार्थीहरूले गरेका छन्। आफ्नो घर र आँगनबाट सरसफाइ सुरू गर्नुपर्ने पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा विनिता बिनाडीले बताइन्। ‘हाम्रो धनगढी हामी आफैंले बदल्नु पर्छ। हामी आफूबाट नै परिवर्तनको सुरुवात गर्नुपर्छ’, उनले भनिन्, ‘धनगढीमा ठूलो जनसंख्या छ, एक लाख जनाले एक–एक फोहर उठायो भने धनगढी आफैं सफा हुन्छ।

धनगढीबासीलाई आफ्नो घर र आँगनबाट सरसफाइ सुरू गर्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु।’ बाटोमा खाँदै हिँड्ने र फोहर फाल्दै जाने बानी सबैले त्याग्नुपर्ने मत पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र मातृकाप्रसाद उपाध्यायको छ। उनले फोहर जथाभावी नफालेर डस्टबिनमा राख्न आग्रह गर्ने बताए। उनले भने, ‘हामीले लगाएको कपडामा खल्ती हुन्छ।

हामीले केही खायो भने फाल्नुपर्ने चिज जथाभावी नफालेर खल्तीमा राख्न सक्छौँ, या नजिकै भएको डस्टबिनमा फाल्न सक्छौँ’, उनले भने, ‘फोहर जथाभावी नफाल्ने र फोरह देख्दा नजिकको डस्टबिनमा हाल्ने बानीको बिकास गर्नु जरुरी छ। हामी आफूले पनि जथाभावी फोहर नगर्ने र अरूलाई गर्न लागेको देखेमा प्रश्न सोध्ने बानीको बिकास गर्नुपर्छ।’ मुलुकको सबैभन्दा सफा सहर धनगढी छ भन्ने सन्देश दिन सरसफाइमा सम्पूर्ण नगरबासीले लाग्नुपर्ने नगर प्रमुख हमालको तर्क छ।

उनले सफा धनगढी अभियानमा मन वचन र कर्मले लाग्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्। नगर प्रमुख हमालले सबभन्दा सफा सहर धनगढी छ भन्ने सन्देश दिनुपर्ने बताए। उनले भने, ‘यो देशलाई सफा सहर धनगढी हो भनेर देखाउनुपर्छ। त्यसका लागि नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले मात्रै गरेर हुन्न, सफा धनगढी अभियानमा सबैले जोडिए स्वच्छ धनगढी अभियान सफल हुन्छ।’

धनगढीको ग्यालेक्सी र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सफा धनगढी अभियानमा प्रतिबद्ध भएर लाग्ने संकल्प गरेका छन्। आफू पनि जथाभावी फोहर नगर्ने र अरूलाई पनि फोहर गर्न लागेको देखे प्रश्न गर्ने उनीहरूले बताएका छन्। विद्यार्थीहरूले सामूहिक रुपमा संकल्प लिएर ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा लाग्ने अठोट समेत गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस