सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने

२०८० फाल्गुन ११, १२:०६ खबर संवाददाता

काठमाडौँ: विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ।

अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँग विधेयकका विषयमा छलफल गर्ने समितिको तयारी छ। समिति सभापति भानुभक्त जोशीले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताए।

‘केही दिनमा सातै प्रदेशमा जाने तयारी छ। कांग्रेस महासचिव बैठक भर्खरै सकिएको छ। अब सचिवालयले त्यसको तयारी गरेपछि हामी सातै प्रदेशमा जान्छौँ। र त्यहाँबाट विधेयकमाथि उनीहरूका धारणा समेत लिन्छौँ’ सभापति जोशीले भने। यसअघि समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ।

विभिन्न शिक्षक सङ्घ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो। प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीले बताए।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो। समितिले सरोकारवालासँग छलफल गरेर त्यसपछि मात्रै दफावार छलफलमा लान लागेको हो। 

कमेन्ट लोड गर्नुस