सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली राजमार्गमा गुणस्तरहीन काम, चार करोड ७५ लाखको भुक्तानी रोक्का

२०८० फाल्गुन १०, ०३:१४ कमल सावद

धनगढीः महाकाली (भीमदत्त) राजमार्ग को भाँतकाडा क्षेत्रमा काम गरेको निर्माण कम्पनीको भुक्तानी अझै रोक्का गरिएको छ। जीएन इन्जिनियरिङले गत आर्थिक वर्षमा महाकाली राजमार्गको डडेल्धुरा क्षेत्रमा मोड सुधार तथा कालोपत्रको काम गरेको थियो।

काम गुणस्तरीय नभएको भन्दै तीन करोड ७५ लाख भुक्तानी रोक्का गरिएको हो। गत जेठमा सडक सुधारको समय सकिएको छ। तर, निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएकाले भुक्तानी रोक्का गरिएको छ। महाकाली राजमार्ग अन्तर्गत डडेल्धुराको भाँतकाडा क्षेत्रमा मोड सुधार तथा कालोपत्रको काम भएकामा भत्किएको थियो। उक्त क्षेत्रमा पानीका कारण सुधार गरिएको सडक भत्किएको हो।

मोडसुधार गरिएको क्षेत्रमा कालोपत्र समेत गरेको निर्माण कम्पनीले अहिले मर्मतको काम गर्दैछ। हस्तान्तरण नहुँदै कालोपत्र भत्किएपछि मर्मतको काम थालिएको हो। सडक डिभिजन कार्यालय, कुलपाते डोटीका इन्जिनियर ज्ञान कुमार रामका अनुसार कालोपत्र गरिएको सडक भत्किएको हो। उक्त क्षेत्रमा निर्माण कम्पनीले मर्मतको काम गर्दैछ। तर, पूरा भएको छैन। भत्किएको सडक मर्मतको काम पूरा नभएकाले भुक्तानीसमेत रोक्का गरिएको हो। वर्षा र चिसोका कारण रोकिएको काम अहिले सुरु भएको छ।

सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्गको विकल्पमा अर्काे सडक छैन। सात पहाडी जिल्लाका लागि महाकाली राजमार्ग लाइफलाइन हो। तर, मोड सुधार र खाल्डा परेका ठाउँमा मर्मत गरिएकोमा काम पूरा नुहँदै फेरि भत्किएको छ।

पुरानो कालोपत्र गरिएको ठाउँमा सडक राम्रो भएपनि नयाँ कालोपत्र उप्किएको छ। वर्षाको पानीसँगै निर्माण कम्पनीले कालोपत्रको काम गरेकाले उप्किएको तर्क सडक डिभिजन कार्यालयको छ। इन्जिनियर ज्ञानकुमार रामले भने, ‘समय थप गरेका छौनौ। जेठमा समय सकिएको हो। उहाँहरूले काम गरिरहनु भएको छैन। पूरा मर्मत भएपछि मात्र भुक्तानी गर्ने हो। पानी जमेका कारण कालोपत्र भत्किएको हो।’ महाकाली राजमार्गको डडेल्धुरा खण्ड उच्च पहाडी भू–भागमा छ। चिसो मौसममा सडक कालोपत्र गर्न सकिदैन। गर्मीको मौसममा पनि बादल लागेको समयमा सो क्षेत्रको तापक्रम न्यून हुन्छ। तापक्रम कम हुँदा पनि सो क्षेत्रको सडक मर्मतमा समस्या देखिएको छ।

डडेल्धुरा खण्डमा सडक मर्मतको काममा लापर्बाही गर्ने निर्माण कम्पनीलाई कारबाही गरिएको छ। समय सकिएको ६ महिनाभित्र पुनः सडक कालोपत्रको काम पूरा गरेर निर्माण कम्पनीले हस्तान्तरण गर्नुपर्ने हो। तर, अहिलेसम्म निर्माण कम्पनीले काम सकेको छैन। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्गको डडेल्धुरा क्षेत्रमा खाल्डै खाल्डा परेका छन्। प्रदेशका पहाडी जिल्ला जोड्ने एक मात्र महाकाली राजमार्गमा परेका खाल्डाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा २०२९ सालमा गाडी पुगेको थियो। सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्ग २०४६ सालबाट कालोपत्र सुरु भएर २०५२ सालमा पूरा भएको थियो। २०२९ सालमा डडेल्धुरा गाडी पुगेको सडकको अवस्था अझै सुधार भएको छैन। डडेल्धुराको भात्काँडा क्षेत्रमा डोजर प्रयोग गरेर मोड सुधार गरिएको ठाउँमा खाल्डाका कारण सवारी सञ्चालनमा नै समस्या छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस