सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडाविरुद्ध दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी

२०८० फाल्गुन ८, ०५:४६ खबर संवाददाता

काठमाडौँः क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले अन्तिम ओभरको पहिलो बलमा आठ विकेटको क्षतिमा पुरा गरेको हो। नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए। उनले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा ६६ रन बनाएका हुन्।

यस्तै बसिर अहमदले अविजित ५२ रन बनाए। उनले ७३ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्न सफल भए। यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन बनाए। बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिए।

यसअघि क्यानडाले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो। बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीन÷तीन विकेट लिए। शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिए। तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो। नेपालको आजको जितले सिरिजमा १–१ को बराबरी भएको छ।
 

कमेन्ट लोड गर्नुस