सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा अपाङ्ग भएका रावतबाट हडपेको जग्गा बिक्री गर्न पत्रिकामा सूचना

२०८० फाल्गुन ८, ०१:२२ कमल सावद

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–१ मङ्गलपुरका अनिल रावतको परिवारबाट हडपेको जग्गा बिक्रीका लागि पत्रिकामा सूचना सार्वजनिक भएको फेला परेका छ। ट्याक्टर दुर्घटनापछि अपाङ्ग भएका रावतको परिवारको ८ कट्‍ठा जग्गा डोटीका लिलाधर जोशीले १० लाख ऋण दिने कागज तयार पारेर हडपेका थिए।

लिलाधर जोशीलाई शिवभत्त पोखरेलले ४७ लाख ८३ हजार ऋण दिएको कागज तयार पारेर हडपेको जग्गा बिक्रीका लागि पत्रिकामा सूचना सार्वजनिक गरिएको हो। शिवभत्त पोखरेलकी श्रीमती स्मृति घिमिरेको नाममा रहेको २७७८ दशमलव १२ वर्गमिटर क्षेत्रफमा फैलिएको जग्गा बिक्रीका लागि गत पुस १९ गते पत्रिकामा सूचना सार्वजनिक भएको फेला परेको छ। सूचनामा जग्गाको मूल्य एक करोड ५० लाख कायम गरिएको छ। तर, पोखरेल र जोशीको बिच ऋणको कागज बनेको थियो। जग्गा तीन वर्षका लागि दृष्टिबन्धकमा राखिएका जोशीले पोखरेलबाट ऋण लिएको कागजमा भनिएको छ।

रावत परिवारबाट जोशी र जोशीबाट पोखरेलले राजिस्टेसन पास गरेको जग्गा बिक्रीका लागि सूचना सार्वजनिक गरिएको हो। तर, जग्गा बिक्री नभएको पोखरेलले बताए।

उनले श्रीमतीको नाममा रहेको कित्ता नम्बर ५७४ को जग्गाको बिक्रीका लागि पत्रिकामा सूचना सार्वजनिक गरिएको बताएका हुन्। बजार मूल्य २ करोडसम्म पर्ने उक्त जग्गा एक करोड ५० लाखमा बिक्रीका लागि सूचना सार्वजनिक गरिएको पोखरेलले बताए।

अनिलले चलाएको ट्याक्टर २०७२ सालमा दुर्घटना भएको थियो। ट्याक्टर कलभर्टको पर्खालमा ठोक्किएपछि ढुङ्गा अनिलको शरीरमा खसेका थिए। अनिलको ढाडको हड्डी भाँचिएको छ। शिक्षण अस्पताल काठमाडौँ र भारत उत्तर प्रदेशको एट्लान्टा अस्पतालमा उपचार गरेका अनिल अहिले पनि अपाङ्ग छन्।

 

कैलालीका रावतको दुर्घटनामा ढाडको हड्डी भाँचियो, १० लाख ऋण माग्दा दुई करोडको जग्गा कब्जा

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस