पनेरूको सहकार्यमा डडेल्धुरामा रहेको अशिग्राम माविमा साउण्ड सिस्टम हस्तान्तरण
धनगढीः समाजसेवी सिद्धराज पनेरूको सहकार्यमा डडेल्धुरामा रहेको अशिग्राम माविमा साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयलाई गुणस्तरीय साउण्ड सिस्टम हस्तान्तरण गरिएको हो। समाजसेवी तथा अशिग्राम माविका पूर्व छात्रसमेत रहेका सिद्धराज पनेरूले विद्यालयबाट अख्तियारि लिई चन्दा संकलन गरेर आइतवार डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
उक्त साउण्ड सिस्टमका लागि समाजसेवी पनेरूले सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’मा विभिन्न सहयोगी व्यक्तिहरुबाट एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर पाण्डेले बताए।
उक्त रकमबाट साउण्ड सिस्टम लगायतका सामग्रीहरु खरिद गरी विद्यालयलाई हस्तान्तरण भइ सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको प्रधानाध्यापक पाण्डेले जानकारी गराएका छन्। उक्त अभियानमा ७४ जना सहयोगीले सहयोग गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी भारतीको अध्यक्षतामा भएको हस्तान्तरण समारोहमा भागेश्वर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उपेन्द्र जोराको प्रमुख अथिति रहेका थिए।
विद्यालयका लागि सदैव सहयोग गरिरहने समाजसेवी सिद्धराज पनेरूले प्रतिबद्धता व्यक्त गरेका छन्। समाजसेवी पनेरुले यस अघि पनि स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा छात्रवृत्ति र आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि प्रतिभा पुरस्कार र अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन्।



