सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब विपन्न तथा बेरोजगार युवाले पनि प्रदेश स्वरोजगार कोषबाट कर्जा पाउने

२०८० फाल्गुन ६, ०६:१३ नारायण अवस्थी

धनगढीः अब सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट विपन्न तथा बेरोजगार युवाले पनि कर्जा पाउने भएका छन्।

कोषबाट विपन्न र बेरोजगार युवाले कर्जा पाउने व्यवस्था गरिएको छ। सहकारीमा आवद्ध भएका युवाहरूले स्वरोजगार हुन स्वरोजगार कोषबाट कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका हुन्। पाँच वर्षमा लिएको सम्पूर्ण ऋण वार्षिक किस्ताका दरले चुक्ता गर्ने गरी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश सरकारले एक अर्बको प्रदेश स्वरोजगार कोष खडा गरेको छ।

कोषबाट सहुलियतपूर्ण कर्जा लिन गत वर्ष ५० पालिकाका एक सय ९८ सहकारी छनौट भएका थिए। कोषले गत आर्थिक वर्षमा ४ सय ६२ जनालाई सहुलियत कर्जा वितरण गरेको छ। यो वर्षको पुस मसान्तसम्म थप ५ सय ७० जनालाई कर्जा उपलब्ध गराएको छ। प्रदेश स्वरोजगार विकास कोषले चालु आर्थिक वर्षमा कूल २ हजार ९ सय जनालाई कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ।

कोषले छनौट भएका सहकारी संस्थामार्फत गत वर्ष १० करोड ३० लाख कर्जा वितरण गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप १० करोड १७ लाख सहुलियत कर्जा उपलब्ध गराएको छ। प्रदेश स्वरोजगार कोषबाट विपन्न र बेरोजगार युवाले ऋण पाउने कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले बताए। ‘सहकारीका सदस्यहरूले सहुलियत कर्जा पाउँछन्’, उनले भने, ‘सहकारीमा आवद्ध नभएको व्यक्तिले आफ्नो नजिकको सहकारीमा आवद्ध भएर सहुलियत कर्जा पाउन सक्छन्।’

कोषले हरेक वर्ष थोक कर्जाका लागि सूचना प्रकाशित गर्छ। प्रदेशभर सञ्चालनमा रहेका सहकारीले थोक कर्जाका लागि आवेदन गर्नुपर्छ। थोक कर्जा पाउन योग्य सहकारीहरूले सहुलियत कर्जाका लागि व्यक्ति छनौट आफैले गर्नुपर्छ। सहकारीको सदस्य रहेको व्यक्तिले पेसको गरेको व्यवसाय प्रस्तावका आधारमा सहकारीको सञ्चालक समितिले सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गर्छ।

हरेक युवालाई कम्तिमा ५० हजार र बढीमा तीन लाख कर्जा दिने कार्यविधिको मापदण्ड रहेको कार्यकारी निर्देशक तिम्सिनाले बताए। यो वर्षको अन्तसम्म २ हजार ९ सय व्यक्तिलाई ६५ करोड कर्जा उपलब्ध गराउने लक्ष्य स्वरोजगार कोषको छ। प्रदेश स्वरोजगार विकास कोष ऐन, २०७५ अन्तर्गत सञ्चालनमा आएको कोषले गत वर्षबाट कर्जा उपलब्ध गराउन थालेको हो।

कोषले १ प्रतिशत वार्षिक व्याजदरमा उपलब्ध गराएको थोक कर्जा सहकारी संस्थाले विपन्न सदस्यहरूलाई बढीमा वार्षिक ५ प्रतिशत व्याजदरमा उपलब्ध गराउने र कर्जा पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्ने कार्यकारी निर्देशक तिम्सिनाले बताए। कोषबाट सहुलियत कर्जा पाउन सहकारीले निवेदन दिनुपर्छ। सहकारीहरूले कोषबाट पाएको थोक कर्जाबाट आफ्ना सदस्यहरूलाई बढीमा पाँच प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्नुपर्ने मापदण्ड छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस